२०८३, आश्विन १७ गते

Oct 03 2026 | २०८३, आश्विन १७ गते

ओमकार एजुकेशनल एकेडेमीले एकसय बढीलाई निःशुल्क एआई तालिम प्रदान गर्ने

शनिवार , आश्विन १७, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, १७ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित ओमकार एजुकेशनल एकेडेमी प्रा.लि.ले दशैं–तिहारको अवसरमा १ सय भन्दा बढी विद्यार्थीलाई १५ दिने निःशुल्क एआई तालिम प्रदान गर्ने भएको छ ।

    विगत ८ वर्षदेखि विभिन्न सीपमूलक तथा व्यवसायिक तालिम सञ्चालन गर्दै आएको एकेडेमीले स्वदेशमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न तालिम सञ्चालन गर्दै आएको जनाएको प्रिन्सिपल विरेन्द्र कुमालले बताउनुभयो ।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका प्रबन्ध निर्देशक आवश्यकमणि पाण्डेले सैद्वान्तिक ज्ञान मात्रै पर्याप्त नभएकाले तालिममा ८० प्रतिशत व्यवहारिक र २० प्रतिशत सैद्वान्तिक ज्ञानलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हाम्रो मुख्य उद्देश्य जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने जनशक्ति उत्पादन गर्नु हो ।’

    पाण्डेका अनुसार एकेडेमी सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्था हो । प्रोफेसनल अकाउन्टेन्ट, बारिस्टा, कम्प्युटर अपरेटर, कुक तथा अन्य सीपमूलक तालिम सञ्चालन गर्दै आएको एकेडेमीले आवश्यकता र बजारको मागअनुसार थप तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।

    लुम्बिनी प्रदेश पर्यटनको उच्च सम्भावना भएको क्षेत्र भएकाले पर्यटनसँग सम्बन्धित सीप सिकेर नेपालमै रोजगारी तथा स्वरोजगार बन्न सकिने उहाँको भनाइ छ । युवाहरू प्लस टु अध्ययन गरेलगत्तै विदेश जाने सोचमा लाग्ने गरेको भन्दै उहाँले स्वदेशमै सीप सिकेर आयआर्जन गर्न सकिने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । ‘नेपालमै बसेर पनि सीपका आधारमा राम्रो आम्दानी गर्न सकिन्छ । विद्यार्थीलाई नेपालमै रोक्ने र उनीहरूलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो,’उहाँले भन्नुभयो ।

    एकेडेमीले नवलपरासीमा क्याफे तथा बारिस्टा तालिमसम्बन्धी फ्रेन्चाइज विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ । 
    दशैं–तिहारको अवसरमा सञ्चालन हुने १५ दिने निःशुल्क एआई तालिममा सहभागीलाई एआईलाई प्रभावकारी रूपमा प्रयोग तथा ‘कमाण्ड’ गर्ने सीप सिकाइने एकेडेमीले जनाएको छ । एआईले कामलाई प्रभावकारी, छिटो र समय बचत गर्ने बनाउने भएकाले रोजगारी खोस्नेभन्दा पनि काम गर्ने तरिकालाई दक्ष बनाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने पाण्डेको भनाइ छ ।

    त्यसै गरी आर्थिक रूपमा विपन्न विद्यार्थीलाई समेत निःशुल्क सीपमूलक तालिम दिने योजना रहेको एकेडेमीले जनाएको छ । तालिम पाएर रोजगारी पाएका विद्यार्थीहरुले पछि संस्थालाई रकम बुझाउन सक्नेछन् ‘आज सहयोग पाएको विद्यार्थीले भोलि कमाएर समाजलाई योगदान गर्न सक्छ,’पाण्डेले भन्नुभयो ।

    एकेडेमीले असोज २५ गतेसम्म विभिन्न आठवटा कोर्समा ४० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । सुरुवाती चरणमा २५ जना सहभागीका लागि उक्त छुट उपलब्ध गराइने बताइएको छ ।

    ss.jpg

    कार्यक्रमको प्रमुख अतिथि हेभेन्ली गार्डेन किड्स क्याम्पसको संस्थापक तथा प्रिन्सिपल रचना क्षेत्रीले स्वदेशमै केही गर्ने सोच र हुटहुटी भएका युवालाई सीपसँग जोड्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ओमकार एजुकेशनल एकेडेमीको उद्देश्य आफ्नो सोचसँग मिल्दोजुल्दो रहेको भन्दै संस्थाले आगामी दिनमा आवश्यकता र बजारको मागअनुसार नयाँ तालिम थप्दै जाने कार्यमा आफूले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।