
आइतवार , जेठ ९, २०७८
भैरहवा, ९ जेठ ।
मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ । फाउण्डेशनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि ५१ हजार रुपैयाँ, ४० थान मेडिकल बेडसिट र ३० थान बिरामीको लागि मेडिकल गाउन गरी ५४ हजार ४ सय ६० रुपैयाँ बराबरको सहयोग गरेको हो ।
भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको अभियानलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले बताए । उनले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई थप सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष रौनियारले आइतबार ५१ हजार रुपैयाँको चेक र मेडिकल सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले महामारीको बेला मायादेवी च्यारिटेबल फाउण्डेशनको सहयोगी हातले अस्पताललाई धेरै उत्साहित बनाएको बताए । ‘अक्सिजन प्लान्ट स्थापना हुनुपर्ने जनसमुदायको मागलाई पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायीले थप उजागर गरिदिनुभएको छ, ’भण्डारीले भने । उनले विकास समितिको पहिलो बैठकले अक्सिजन प्लान्ट स्थापना, आइसीयू र भेन्टिलेटर थप्ने निर्णय गरेको बताए । तत्काल कोरोना संक्रमित विरामीलाई अक्सिजनको उपलब्धता गराउने कार्यमा अस्पताल लागेको बताए । विरामीको उपचारमा चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मी दिनरात लागिपरेको उनको भनाइ छ ।
हस्तान्तरण कार्यक्रममा भीम अस्पतालका कोभिड फोकलपर्सन डा. आरिफ हुसेन, मायादेवी च्यारिटेबल फाउण्डेशनका सदस्य विरेन्द्र ज्ञवाली, प्रवेश कुमार कर्ण लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij