आइतवार , आश्विन २५, २०८३
भैरहवा, २५ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ मा आयोजित तेस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा दुर्गा मन्दिर र एअरपोर्ट एभेन्जर्स एफसी भिड्ने भएका छन् ।
वडा कार्यालयको आयोजनामा शनिबारदेखि सिद्धार्थनगर–४ स्थित फुटबल मैदानमा सुरु भएको प्रतियोगितामा ६ वटा टीम सहभागी छन् । प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलबाट दुर्गा मन्दिर फाइनलमा प्रवेश गरेको हो भने एअरपोर्ट एभेन्जर्सले बाई पाएर फाइनलमा स्थान सुरक्षित गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो खेलमा ढाक्रे खेलकुद तथा सांस्कृतिक परिवार (सिनियर) लाई ३–१ गोलले पराजित गर्दै दुर्गा मन्दिर विजयी भएको थियो । उक्त खेलमा दुर्गा मन्दिरका आकाश राना म्यान अफ द म्याच घोषित हुनुभयो ।
दोस्रो खेलमा एअरपोर्ट एभेन्जर्स एफसीले दोगहरा वारियर्सलाई १३–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । उक्त खेलमा ६ गोल गर्न सफल एअरपोर्ट एभेन्जर्सका आशिष गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो ।
त्यस्तै तेस्रो खेलमा एअरपोर्ट योंग ब्वायेजले भवानी टाइगर्सलाई १७–० गोलले पराजित गर्याे । विजेता टोलीका लागि पाँच गोल गर्नुभएका अवि पुन म्यान अफ द म्याच घोषित हुनुभयो ।
पहिलो सेमिफाइनलमा दुर्गा मन्दिरले एअरपोर्ट योंग ब्वायेजलाई ६–३ गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो । उक्त खेलमा पनि दुर्गा मन्दिरका आकाश राना म्यान अफ द म्याच घोषित हुनुभयो ।
प्रतियोगिताको फाइनल खेल आइतबार (आज) दुर्गा मन्दिर र एअरपोर्ट एभेन्जर्सबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २१ हजार रुपैयाँ र उपविजेताले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन शनिबार समाजसेवी मनोज गिरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले वडास्तरमा आयोजना गरिने यस्ता खेलकुद प्रतियोगिताले स्थानीयस्तरबाटै प्रतिभावान् खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम संयोजक तथा वडा सदस्य हरिबहादुर केसीको स्वागत तथा सहायक कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर–४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला), चेम्बर अफ कमर्स रुपन्देहीका सह–कोषाध्यक्ष सन्तोष शुक्ला, वडा सचिव धनेशचन्द्र गुरुङ, समाजसेवी, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij