भैरहवा, ९ जेठ ।
बुद्धजयन्ती यस वर्ष पनि निषेधाज्ञाको कारण प्रभावित हुने भएको छ । प्रत्येक वर्ष भव्य समारोहकाबीच सम्पन्न हुने गरेको बुद्धजयन्ती समारोह यस वर्ष २५६५ वटा दीप प्रज्वलन गरेर, परित्राण पाठ गरेर सामन्य रुपमा मनाइने भएको हो । गतबर्ष पनि बन्दाबन्दीको कारण बुद्धजयन्ती पुजापाठमा सीमित भएको थियो ।
आगामी जेठ १२ गते परेको २५६५ औं बुद्धजयन्तीमा विगतका वर्षमा जस्तो हुनेछैन । विगतमा राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तर्राष्ट्रियस्तरको औपचारिक कार्यक्रम हुने गरेकोमा कोरोना भाइरस संक्रमणको कारण यस वर्ष औपचारिक कार्यक्रम नहुने भएको हो । निषेधाज्ञाको कारण गत वर्ष पनि पुजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइएको बुद्धजयन्ती यस वर्ष पनि पुजा पाठ, दीप प्रज्वलन गरेर सामान्य रुपमा मनाउने तयारी गरेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।
सदस्यसचिव शाक्यले भने, ‘२५६५ औं बुद्धजयन्ती जेठ १२ गते परेको छ । विगतका वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर मनाइएको थियो भने गएको सालदेखि कोरोनाको कारण राम्ररी मनाउन पाइएको छैन । यस वर्ष पनि हामीले राम्रोसंग मनाउने तयारी थियो, तर कोरोना भाइरसको दोस्रो लहर देखिएपछि निषेधाज्ञाको बीच बुद्धजयन्ती सामान्य रुपमा मनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुने गरी मायादेवी परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा सम्माननीय राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश वाचन गर्ने र पुजापाठ गर्ने, परित्राण पाठ गर्ने र सांझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको शाक्यको भनाइ छ । शाक्यले भने ‘कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाणा प्राप्ति होस् भनेर २५६५ वटा दीप प्रज्वलन गर्नेछौं र संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पुजापाठ हुन्छ ।
बुद्ध धर्ममा वैशाख पुर्णिमाको महत्व अत्यन्तै धेरै रहेको छ । वैशाख पुर्णिमामा त्रिसंयोग परेको देखिन्छ । सिद्धार्थ गौतमबुद्धको जन्म वैशाख पुर्णिमाकै दिन भएको थियो । उनले बुद्धत्व प्राप्त गरेको दिन पनि वैशाख पुर्णिमाकै दिन थियो । त्यसै गरी बुद्ध ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको दिन पनि वैशाख पुर्णिमाकै दिन थियो ।
नेपाल लगायत बौद्ध राष्ट्रहरु भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओस , कोरिया, जापान, चीन लगायत मुलुकहरुमा वैशाख पुर्णिमा अर्थात बुद्धजयन्तीलाई विशेष राजकीय सम्मानका साथ मनाउने गरिन्छ ।
आजभन्दा २५६५ वर्षअघि हालको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । उनी जन्मिएको प्रमाणको रुपमा प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्ना आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा ईसा पूर्व २४९ मा लुम्बिनीको भ्रमण गर्दै ‘हिद बुधे जाते शाक्यमुनिति’ अर्थात यहाँ शाक्यमुनि बुद्ध जन्मिनु भएको थियो भन्ने शिलालेखसहितको ढुंगाको स्तम्भब खडा गरे जसलाई अशोका स्तम्भ भनिन्छ । उक्त स्तम्भ मायादेवी मन्दिरको पश्चिमपट्टी रहेको छ । सोहि स्तम्भमा सन् १३१२ मा कर्णालीका राजा रिपु मल्लले लुम्बिनीको भ्रमणगरी आफ्नो यात्राको स्मरण गराउन ‘ओम् मणि पद्मे हुम रिपु मल्ल चिरं जयतु’ लेखेका छन् । बुद्ध जन्मिदा बितिकै सात पाईला हिडेको बौद्ध धर्म दर्शनमा उल्लेख छ । उनी हिडेको भनेर मायादेवी मन्दिर परिसरमा जन्मस्मारक शिला पनि राखिएको छ । उक्त शिला सन् १९९६ मा पत्ता लागेको बताइन्छ ।
कपिलवस्तुका शाक्यमुनि राजा शुद्धोधन र मायादेविको सुपुत्रको रुपमा जन्मिएका सिद्धार्थले २९ वर्षको उमेरमा दरबार छोडी निस्केका थिए । पछि वैशाख शुक्ल पूर्णिमाकै दिन उनले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए । ८० वर्षको उमेरमा वैशाख शुक्ल पुर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।
विश्वमा बुद्धलाई कसैले भगवान, कसैले महामानव, कसैले शान्तिका दूत त कसैले एसियाका तारा भनेर मान्ने गर्दछन् । बुद्ध वचनलाई अहिले पनि उत्तिकै महत्व दिने गरिएको छ । नेपालमा वि.संं २००८ देखि बुद्धजयन्तीको दिन सार्वजनिक विदा दिन थालिएको हो ।
...