शनिवार , कार्तिक १, २०८३
भैरहवा, ३१ असोज । विद्यालयसँगको पुरानो सम्बन्धलाई पुनः ताजा गर्दै शैक्षिक विकासमा सहकार्य गर्ने उद्देश्यले साई ग्लोबल सेकेण्डरी स्कूल एण्ड कलेजका पूर्वविद्यार्थीहरू एकजुट भएका छन् । दशैं, तिहार र छठपर्वको अवसरमा साई ग्लोबल एलुम्नाई एशोसिएसनको आयोजनामा भएको शुक्रबार विद्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले विद्यालयसँगको सम्बन्धलाई निरन्तरता दिँदै यसको प्रगतिमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलियास्थित विद्यालय परिसरमा साई ग्लोबल एकेडेमीका अध्यक्ष दिनेश मान अमात्यको अध्यक्षता तथा पूर्वविद्यार्थी एवं रेडियोलोजिस्ट डा. त्रिलोचन पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन विद्यालयका पूर्वप्रबन्ध निर्देशक मोति प्रसाद पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. पन्थीले विद्यालयले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रम संयोजक पौडेलले विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित भएको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले पूर्वविद्यार्थीहरूलाई एकजुट गराउने यस्ता कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउने उल्लेख गर्नुभयो । सो अवसरमा पौडेलले आफ्ना जेठो छोरा सामोद पौडेलले एशोसिएसनको कोषका लागि ५ हजार १ रुपैयाँ योगदान गर्ने घोषणा गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य लक्ष्मण ज्ञवालीले पूर्वविद्यार्थीहरूलाई आफूले अध्ययन गरेको विद्यालयसँग निरन्तर जोडिइरहन आग्रह गर्नुभयो । उहाँले विद्यालयले पूर्वविद्यार्थीका छोराछोरीलाई भर्ना तथा मासिक शुल्कमा छुटको व्यवस्था गर्ने बताउनुभयो । साथै रोजगारीका अवसरमा पनि प्राथमिकता दिँदै आएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई सीपमूलक शिक्षा र विभिन्न गतिविधिमा सहभागी गराउँदै आएको उल्लेख गर्दै ज्ञवालीले आगामी वर्षदेखि साई ग्लोबलले स्नातक तहमा बीबीए र बीएचएम कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको साथ र सहयोग महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
विद्यालयका सल्लाहकार राजु ढकालले कार्यक्रममा सहभागी हुँदा आफ्नो विद्यार्थी जीवनको स्मरण भएको बताउँदै विद्यालयले पूर्वविद्यार्थीका लागि गरेको छुटलाई सम्मानका रूपमा लिन आग्रह गर्नुभयो ।
साई ग्लोबल एलुम्नाई एशोसिएसनका उपाध्यक्ष सुरज कुमार कान्दुले आफ्नो बाल्यकाल विद्यालयमै बितेको स्मरण गर्दै संस्थाको प्रगतिको कामना गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा पूर्वविद्यार्थी आकाश कुमार निषाद, अजित धवल, आश्रा भट्टराई, हितेन वि.क., नम्रता काफ्ले, विकास अग्रहरी, धर्मेन्द्र केवट, नब्रस्का उपाध्याय र मनिष चौबेलगायतले विद्यालयमा पुनः भेला हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँहरूले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको प्रगति र उत्कृष्ट नतिजाको प्रशंसा गर्दै आगामी दिनमा पनि पुनर्मिलन कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
साई ग्लोबल एलुम्नाई एशोसिएसनको अध्यक्ष एलिना आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सरोज कमल श्रेष्ठ, सञ्चालक समिति सदस्य पाथ्रिवेन्द्र उपाध्याय, शिक्षकशिक्षिका, विद्यार्थी लगायतको उपस्थिति थियो । सो अवसरमा पूर्व विद्यार्थीहरुलाई साई ग्लोबल एलुम्नाई एशोसिएसनको ब्याच समेत हस्तान्तरण गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij