
सोमवार , जेठ १०, २०७८
भैरहवा, १० जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा स्वास्थ्य सामग्री वितरण सुरु गरेको छ । राप्रपा युवा नेता तथा क्षेत्र नम्बर ४ का अध्यक्ष सद्दाम शाहको नेतृत्वमा पार्टीले मर्चवार क्षेत्रका स्थानीय प्रहरी चौकी तथा स्थानीयवासीलाई मास्क, सेनिटाइजर उपलब्ध गराउन सुरु गरेको हो ।
कोरोना महामारीको विषम परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा नागरिकलाई स्वास्थ्य सामग्री वितरण गरिएको युवा नेता शाहले बताए । ‘निषेधाज्ञा पालना गराउन सुरक्षाकर्मी दिनरात खटिनुभएको छ, उहाँहरुको मनोबल बढाउन आवश्यक छ, अत्यावश्यक कामका लागि घर बाहिर निस्कने नागरिकलाई उहाँहरुको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छौं, ’उनले भने ।
स्वास्थ्य सामग्री वितरण कार्यमा नेता शाहको नेतृत्वमा अहमद अली साह, अमित सहानी लगायत राप्रपाका नेता कार्यकर्ता खटिएका छन् ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सामग्री वितरण कार्य प्रशंसनीय रहेको राप्रपा रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
त्यस्तै राप्रपा देवदह नगर समितिले पनि उपचारका लागि अस्पतालसम्म पुग्न नसक्ने कोरोना संक्रमित विरामीलाई सवारीसाधन उपलब्ध गराउँदै आएको पार्टीका केन्द्रीय सदस्य तोया नाथ लम्सालले बताए । त्यस्तै आर्थिक अवस्था कमजोर भएकालाई पीसीआर परीक्षणको लागि सहयोग गरिएको लम्सालले जानकारी दिए । ‘मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्री समेत वितरण गर्दै आएका छौं, संक्रमितको अवस्थाबारे पनि घरघर पुगेर जानकारी लिइरहेका छौं, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij