शुक्रवार , कार्तिक ६, २०८३
भैरहवा, ६ कार्तिक । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम निकै कम भइरहेकाले सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गरेको छ ।
स्वास्थ्योपचारका क्रममा विगतको तुलनामा रगतको माग बढिरहेको र बिरामी तथा दुर्घटनाका घाइतेलाई जुनसुकै बेला रगत आवश्यक पर्न सक्ने भएकाले रक्तदान आवश्यक रहेको शाखाले जनाएको छ ।
रेडक्रस रुपन्देही जिल्ला शाखाका सभापति राम चन्द्र उपाध्यायले समाजसेवी, विभिन्न क्षेत्रका अगुवा तथा सचेत नागरिकलाई नजिकैको रक्त सञ्चार सेवा केन्द्र वा इकाइमा पुगेर स्वस्फूर्त रूपमा रक्तदान गर्न र अरूलाई पनि प्रेरित गर्न अनुरोध गर्नुभएको छ । ‘बिरामी पर्नु वा दुर्घटना हुनु जस्ता आपत्तकालीन अवस्थाहरु पूर्ण रुपमा अप्रत्याशित हुन्छन् । यस्तो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै तत्काल रगतको आवश्यकतालाई सहज रुपमा व्यवस्थापन गरिरहनु हामी सबैको मानवीय दायित्व हो, ’उहाँले भन्नुभयो ।
सभापति उपाध्यायका अनुसार रक्तदान गर्न चाहनेले बुटवलस्थित रक्त सञ्चार सेवा केन्द्रमा ९८५७०४१००४ र ९८४७०२८६३३ तथा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) को रक्त सञ्चार सेवा इकाई (ब्लड बैंक) मा ९८६७३२६४५७ र ९८४७०३९३७३ मा सम्पर्क गर्न सक्नेछन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij