बुधवार , कार्तिक १८, २०८३
काठमाडौं, १८ कार्तिक । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का पूर्वराष्ट्रपति जोसेफ काबिलाले राष्ट्रसंघीय शान्ति मिसनका प्रमुख जेम्स स्वानसँग भेटवार्ता गरेका छन् ।
पूर्वी कङ्गोमा पुनः हिंसात्मक झडप बढ्दै जाँदा शान्ति स्थापनाका प्रयास प्रभावित भइरहेका बेला मंगलबार उत्तर किभु प्रान्तको राजधानी गोमामा उनीहरूबीच भेटवार्ता भएको हो । यो भेट राष्ट्रसंघीय कङ्गो स्थिरीकरण मिसन (मोनुस्को) का प्रमुख स्वान र काबिलाको नेतृत्वमा रहेको राजनीतिक–सैनिक गठबन्धन ‘फ्रन्ट फर द रिफाउन्डेसन अफ द नेसन’ (एफआरएन) बीचको पहिलो प्रत्यक्ष छलफल हो । गत अक्टोबर १२ मा स्थापना भएको उक्त गठबन्धनमा काबिलाको नेतृत्वसहित मार्च २३ मुभमेन्ट (एम२३) विद्रोहसँग सम्बन्धित राजनीतिक तथा सैनिक नेतृत्व सहभागी रहेको जनाइएको छ ।
भेटवार्तामा काबिलासँगै एफआरएनका उपाध्यक्ष कोर्नेल नाङ्गा र बट्र्रान्ड बिसिम्वालगायत गठबन्धनका वरिष्ठ नेताहरू सहभागी थिए । भेटपछि राष्ट्रसंघीय मिसन प्रमुख स्वानले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएनन् । तर एफआरएनका उपाध्यक्ष बिसिम्वाले पत्रकारहरूसँग कुरा गर्दै कतारको दोहामा जारी शान्ति प्रक्रियाको अवस्था, युद्धविराम उल्लङ्घनका आरोप तथा पूर्वी कङ्गोका विभिन्न मोर्चामा पुनः सुरु भएको हिंसाबारे छलफल भएको जानकारी दिए ।
उनले द्वन्द्व प्रभावित क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको भनिएको आक्रमणप्रति गठबन्धन चुप लागेर नबस्ने पनि बताए । कङ्गो सरकार र विद्रोही समूहबीच स्थायी युद्धविरामका लागि कूटनीतिक प्रयास भइरहे पनि उत्तर किभु र दक्षिण किभु प्रान्तमा निरन्तर झडप भइरहेका छन् । पछिल्लो घटनाक्रमले क्षेत्रीय शान्ति स्थापनाका प्रयास थप चुनौतीपूर्ण बनेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
