बुधवार , कार्तिक १८, २०८३
भैरहवा, १८ कार्तिक । रुपन्देहीको भैरहवामा किराना पसलहरूको बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा मंगलबार किराना पसलको अनुगमन गरिएको हो ।
टोलीले सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथस्थित नट्स एण्ड अर्गानिक होम, ओम साई केयर ट्रेडर्स, अन्सार जनरल स्टोर्स र रईस किराना पसल तथा वडा नम्बर ६ गल्लामण्डीस्थित सिद्धेश्वर खाद्य स्टोर्स, जय महालक्ष्मी स्टोर्स, देविका किराना स्टोर्स र सुस्मिता किराना पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा एउटा पसलमा खुला रूपमा ड्राई फ्रुट्स बिक्री गरिएको, लेबल तथा प्रयोग अवधि उल्लेख नगरिएको, केही पसलको व्यवसाय नवीकरण नभएको र म्याद सकिन लागेका सामान बिक्रीका लागि राखिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गल्लामण्डीका केही पसलमा खरीद बिलबिनाका सामानसमेत फेला परेका थिए । खरिद बिलबिनाका हल्का पेय पदार्थ तथा खुला रूपमा बिक्रीका लागि राखिएको चिनी लगायतका सामग्री फेला परेपछि नष्ट गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै तिहारमा प्रयोग हुने झिलिङ्गा रोटीको प्याकेटमा उत्पादकको विवरण उल्लेख नभएको र प्रयोग अवधि १५ महिनासम्म राखिएको पाइएपछि उत्पादकलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा व्यवसायीलाई खुला रूपमा खाद्यवस्तु बिक्री नगर्न, उत्पादन तथा प्रयोग मिति स्पष्ट उल्लेख गर्न, व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न र म्याद सकिन लागेका सामान छुट्टै राख्न निर्देशन दिइएको न्यौपानेले बताउनुभयो ।
केही पसलमा मूल्यसूची अद्यावधिक नभएको पनि पाइएको उहाँले जानकारी दिनुभयो । तत्काल ठूलो जरिवाना नगरी व्यवसायीलाई सचेत गराइएको र आगामी अनुगमनमा पुनः यस्तै कैफियत भेटिए कडा कारवाही तथा जरिवाना गरिने लिखित चेतावनी दिइएको उहाँको भनाइ छ । चाडपर्व लक्षित तथा नियमित बजार अनुगमनलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट आशिष विश्वकर्मा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट लक्ष्मी शर्मा, घरेलु तथा साना उद्योग कार्यालयबाट त्रिपुरारी चाई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट श्रवण ढुंगाना सिद्धार्थनगर नगरपालिकाबाट हिरा बराल, सिद्धार्थ उद्योग वाणिज्य संघबाट धर्मवीर शर्मालगायतको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
