
मंगलवार , जेठ ११, २०७८
भैरहवा, ११ जेठ ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएसंगै अहिले मुलुक आक्रान्त छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्ला कोभिड–१९ का कारण प्रभावित भएका छन् । रुपन्देहीमा पनि संक्रमण बढेसंगै जिल्ला प्रशासन कार्यालयले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा कारण अधिकांश क्षेत्र प्रभावित भएका छन् । निषेधाज्ञा जारी भए पनि कोरोना संक्रमण भइ अस्पतालमा उपचार गराउनेको संख्या धेरै छ । अहिले अस्पताल कोरोना संक्रमित बिरामीले भरिभराउ छन् । त्यस्तै कोरोना संक्रमित भइ उपचारकै क्रममा मृत्यु हुने अवस्था पनि छ भने कोरोना संक्रमणबाट निको भइ घर फर्किनेको संख्या पनि उस्तै छ ।
दोस्रो लहरको कोरोना महामारी फैलिएसंगै अस्पतालमा बेड र अक्सिजनको अभाव हुन थाल्यो । बेड र अक्सिजन नपाएका कारण बिरामीहरुले ज्यान गुमाउनुपर्यो । कतिपय विरामी भुंइमा उपचार गराउन बाध्य भए । त्यस्तै कतिपय बिरामी अस्पतालसम्म पुग्न नपाउँदै एम्बुलेन्समै ध्यान गुमाउन बाध्य भए । त्यसै गरी कोरोना संक्रमित भएर गम्भिर अवस्थामा अस्पतालमा पुगेर पनि कतिपय बिरामीहरुले ज्यान गुमाए । महामारीको नियन्त्रण तथा रोकथामको लागि सरकारले निषेधाज्ञा जारी गरे पनि अस्पतालमा बेड, जनशक्ति तथा अक्सिजनको प्रयाप्त व्यवस्था नगर्दा सर्वसाधारणमा चिन्ता थपियो ।
जिल्ला अस्पतालको रुपमा रहेको भैरहवास्थित भीम अस्पताल कोरोना संक्रमित बिरामीले भरिभराउ छ । सामाजिक संस्था लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले अत्याधुनिक आकस्मिक भवन (इमरजेन्सी ब्लक) को निर्माण गरेपछि अहिले इमरजेन्सी ब्लकलाई पनि कोभिड अस्पतालको रुपमा प्रयोग गरिएको छ । निषेधाज्ञाका कारण अस्पताल आसपासका होटल तथा रेष्टुरेण्ट बन्द छन् । यसले कोभिड संक्रमित विरामीहरुलाई आवश्यक खानेकुरा पाउन ग्राहो छ । यही अवस्थालाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटीले उपचाररत बिरामी, बिरामी कुरुवालाई लक्षित गर्दै तातो पानी, अण्डा, चिया, बेसार, ज्वानो पानी तथा दालको झोल निःशुल्क वितरण गरिहेको छ ।
जेठ १ गतेदेखि सुरु भएको यो कार्यक्रम अहिले पनि निरन्तर रुपमा चलिरहेको पार्टीका सिद्धार्थनगर इञ्चार्ज तथा रुपन्देही जिल्ला सचिवालय सदस्य तीर बहादुर रोका ‘डार्बिन’ ले बताए । वितरण कार्यमा पार्टीको नगर कमिटी, युवा संगठन वाइसीयल, विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) लगायतको टिम खटिएको छ । पार्टीले सञ्चालन गरिरहेको कार्यक्रममा समाजसेवी, उद्योगी, व्यवसायी तथा आम नागरिकबाट स्वतस्र्फूत सहयोग भइरहेको डार्बिनले जानकारी दिए ।
बिरामी तथा बिरामी कुरुवाहरुलाई मध्यनजर गर्दै उनीहरुलाई अस्पताल परिसरमै तातो पानी, बेसार र ज्वानो पानी, अण्डा, दालको रस, औषधीयुक्त कालो चिया वितरण गरिएको माओवादी केन्द्रका युवा नेता तुल्सी प्रसाद न्यौपाने (टी.पी.)ले बताए । ‘भीम अस्पतालले बिरामीको लागि खानाको व्यवस्था त गरेको छ, तर बिरामीले भात तरकारी खान सक्ने अवस्था छैन, किनकी यहाँ कोभिड बिरामी हुनुहुन्छ, उहाँहरुलाई खाना निल्न अफ्ठयारो हुन्छ, त्यसले यो कार्यक्रम निरन्तर सञ्चालन गरिरहेका छौं,’न्यौपानेले भने ।
दैनिक १७५ देखि २ सयसम्म बिरामी तथा बिरामी कुरुवाहरुलाई सेवा प्रदान गरिएको माओवादी केन्द्रका नेता ध्रुव लाम्गादेले बताए । उनले कोरोना महामारीको विषम परिस्थितिमा मानवीय कार्य गर्नुपर्छ भन्ने उद्देश्य बोकेर पार्टीले यो कार्य सञ्चालन गरिरहेको बताए । ‘अस्पतालमा आउने बिरामी तथा बिरामी कुरुवाहरुमध्ये माओवादी केन्द्रमा आबद्ध कार्यकर्ताहरु पनि हुनुहुन्छ, पार्टीले यो कार्यक्रम सञ्चालन गरेकोप्रति उहाँहरुले खुशी व्यक्त गरिरहनुभएको छ, ’लाम्गादेले भने । निषेधाज्ञाका कारण चिया तथा तातो पानी उपलब्ध नभएको र उपलब्ध भए पनि महंगो पैसा तिर्नुपर्ने बाध्यता रहेकोले पार्टीले निःशुल्क रुपमा उपलब्ध गराइरहेको उनको भनाइ छ ।
शव व्यवस्थापन गर्दै माओवादी केन्द्र
कोभिड–१९ संक्रमित विरामीहरुको मृत्यु पश्चात शव व्यवस्थापन कार्यमा पनि नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर लागेको छ । विपन्न परिवारको मृत्यु पश्चात दाहसंस्कारको लागि पार्टीले शव व्यवस्थापन गरिरहेको माओवादी केन्द्र सिद्धार्थनगर कमिटी सदस्य तथा विद्यार्थी नगर सह–संयोजक तुल्सी प्रसाद न्यौपाने (टी.पी.)ले बताए । हालसम्म ५ वटा शवको व्यवस्थापन गरिएको न्यौपानेले जानकारी दिए ।
अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु पश्चात शव व्यवस्थापनको लागि लागि ४० देखि ६० हजार रुपैयाँ बुझाउनुपरेको जानकारी पाएपछि पार्टीले निःशुल्क रुपमा शव व्यवस्थापन कार्यको थालनी गरिरहेको उनले बताए । यद्यपि भीम अस्पताल विकास समितिले मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनको लागि अस्पतालको तर्फबाट कसैले रकम नलिएको र लिएको भए कारवाही हुने स्पष्ट पारिसकेको छ ।
माओवादी केन्द्रका नेता ध्रुव लाम्गादेले शव व्यवस्थापन गर्दा आवश्यक स्वास्थ्य मापदण्ड अपनाइएको बताए । ‘अतिविपन्न परिवारको मृत्युपश्चात आर्थिक अभावका कारण दाहसंस्कारको लागि हुने समस्यालाई मध्यनजर गर्दै निःशुल्क रुपमा माओवादी केन्द्रले शव व्यवस्थापन गरिरहेको छ, ’उनले भने । पार्टीले सञ्चालन गरेको अभियानमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत ज्ञापन गरेका छन् ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा बस्दै आएका ठेला व्यवसायीको श्रीमतीको मृत्यु भएपश्चात एम्बुलेन्समा उनको शव राखेर भारत पठाइएको वाइसीएल सिद्धार्थनगर संयोजक दिलिप प्रजापतिले बताए । ‘एम्बुलेन्सको भाडा तिरेर मृतकको शव भारत पठायौं, ’उनले भने ।
यस्तो विषम परिस्थतिमा अस्पताल परिसरमा सेवा गर्ने कार्य प्रशसंनीय रहेको र यसले राम्रो सन्देश जाने समाजसेवी तथा अभिवक्ता प्रख्यात बन्जाडे बताउँछन् । ‘यो कार्य गर्न जोखिमसंगै भने चुनौतीपूर्ण पनि छ, बन्जाडेले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij