
मंगलवार , जेठ ११, २०७८
भैरहवा, ११ जेठ ।
विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीआई सिद्धार्थ, नेपालले निषेधाज्ञा जारी भएपछि विभिन्न रचनात्मक कार्यलाई तीव्रता दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि जेसीजले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण, विरामीलाई उपचारका लागि सहयोग, बाल आश्रममा खाद्यान्न सामग्री वितरण जस्ता कार्यक्रम गरेको छ ।
सोही क्रममा संस्थाले जेठ ६ गते बिहीबारदेखि भैरहवामा बिरामी तथा बिरामी कुरुवाहरुको लागि निःशुल्क खाना वितरण कार्यक्रम सुरु गरेको छ । छैठौं दिन मंगलबारसम्म ९ सय बढीलाई खाना खुवाइएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । संस्थाले दैनिक १५० जना बढीलाई खाना वितरण गरिरहेको उनले बताए ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा तथा सिद्धार्थ बसपार्कस्थित सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेशन सेन्टरमा उपचाररत विरामी तथा विरामी कुरुवाहरुलाई लक्षित गर्दै खाना वितरण गरिएको ज्ञवालीले बताए । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्रलाई अंगिकार खाना वितरण कार्य सुरु गरिएको ज्ञवालीले जानकारी दिए ।
युसीएमएसमा सांझ र बसपार्कमा रहेको आइसोलेशनमा बिहान सांझ खाना वितरण गरिएको कार्यक्रम संयोजक कमल जि.सी.ले जानकारी दिए । खाना वितरण कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्षहरुका साथै संस्थाका शुभेच्छुकहरुको साथ र सहयोग गरेको जि.सी.ले बताए ।
संस्थाले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिदै जाने जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij