
बुधवार , जेठ १२, २०७८
लुम्बिनी। कोरोना १९ को महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सामाजीक दुरी कायम गरी बुद्ध जयन्ती मनाईएको छ।
कोरोना महामारीका कारण जनसहभागितामा औपचारिक कार्यक्रम गर्न नमिलेपछि सीमित व्यक्तिको उपस्थितिमा मायादेवि मन्दिर परिषरमा प्रार्थना गरिएको छ।
लकडाउनका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरुरगुरुमा, भिक्षुरभिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोचारण गरेका हुन्।
कार्यक्रमस्थलमा उनीहरु बाहेक लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीमात्रै सहभागी थिए।
बिगतका बर्षहरुमा धुमधाम र तामझामका साथ विशेष समारोहको आयोजना गरी बुद्ध जयन्ती मनाइने गरेको भएपनि गतवर्ष र यसवर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रम आयोजना हुन सकेन।
महामारीकै कारण कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरेको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिए। उनले आज नै गौतम बुद्ध फलफुल बाटीका क्षेत्रमा २५ हजार फलफुलको बोटविरुवा रोप्ने कार्यको शुभारम्भ गरिएको बताए।
उनका अनुसार बेलुका कोरोना महामारी अन्त्य, संक्रमितहरुको स्वास्थ्यलाभ र मृतकहरुको सम्झनामा २५६५ वटा दीप प्रज्ज्वलन गरिनेछ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij