
बिहिवार , जेठ १३, २०७८
भैरहवा, १३ जेठ ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टरलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरेको छ । नगरपालिकाले सिद्धार्थनगर–३ स्थित बसपार्कमा सञ्चालन गरेको आइसोलेशन सेन्टरको लागि १० सेट पीपीई उपलब्ध गराइएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । ‘कोरोना संक्रमित उपचारमा निरन्तर खटिनुहुने स्वास्थ्यकर्मीहरुको लागि पीपीई सेट उपलब्ध गराएका छौं, ’गुप्ताले भने ।
बिहीबार क्लबका संस्थापक अध्यक्ष गुप्ता र क्लबका वर्ष २०२१/२२ का इलेक्ट अध्यक्ष गोविन्द्र प्रसाद गरीले उक्त पीपीई सेट सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत पिताम्बर पाठकलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै जनस्वास्थ्य अधिकृत पाठकले कोभिड महामारीमा पीपीई सेट उपलब्ध गराउने लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि समेत क्लबबाट सहयोगको अपेक्षा गरिएको बताए ।
क्लबले वैशाख २७ गतेदेखि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा बिरामी र बिरामी कुरुवाहरुलाई निःशुल्क खाना वितरण गर्दै आएको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले बताए । विगत केही दिनदेखि भैरहवास्थित मिलनचोकमा खाना, पानी तथा मास्क वितरण गरिरहेको क्षेत्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij