
बिहिवार , जेठ १३, २०७८
भैरहवा, १३ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार सर्वदलीय बैठक राखेर कोरोना नियन्त्रण र उपचारमा लुम्बिनी प्रदेश सरकारले गरेका कामबारे जानकारी गराएका छन् ।
बैठकमा मुख्यमन्त्री पोखरेलले अक्सिजनको सहज आपूर्ति व्यवस्था मिलाइएको जानकारी दिए । उनले कोरोना संक्रमण सुरु भएसंगै एक वर्षदेखि प्रदेशमा ६ सय जनशक्ति थप गरी निरन्तर खटाइएको बताए । व्यवस्थित जनशक्ति परिचालनमा लुम्बिनी प्रदेश पहिलो भएको उनको भनाइ थियो ।
बैठकमा प्रदेशसभाको व्यवस्थित र प्रभावकारी सञ्चालनबारे समेत छलफल भएको थियो । तीन वर्षसम्म प्रदेशसभा सहमति र सहकार्यको आधारमा सञ्चालन भएर नमूना बनेको बताउँदै उनले आगामी दिनमा पनि सहमति र सहकार्यको यात्रालाई निरन्तर हुने आफूले अपेक्षा गरेको बताए । बैठकमा सहभागि दलका नेताहरुले अब गर्नुपर्ने कामबारे पनि सुझाव दिएका थिए ।
बैठकमा सत्तारुढ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री लिला गिरी, एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, प्रमुख सचेतक फखरुद्दीन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय र उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको सहभागिता रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर के.सी.ले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij