
जुनसुकै पार्टीमा आबद्ध भए पनि कारवाहीको भागिदार हुनुपर्छ : लिला गिरी
शुक्रवार , जेठ १४, २०७८
नेपालगञ्ज, १४ जेठ ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी स्टाफमाथि आक्रमण गर्ने मुख्य व्यक्ति सत्तारुढ दल नेकपा एमालेका नेता भएको पाइएको छ । कोरोना संक्रमित डिल्ली बहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मान बहादुर रावत लगायतका व्यक्तिले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए ।
रावत नेकपा एमाले बाँके जिल्ला दाङ जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विश्वास पात्र पनि हुन् ।
पछिल्लो पटक चयन गरिएको नेकपा ओली समुहको लुम्बिनी प्रदेश कमिटी सदस्यमा उनलाई चयन गरिएको थियो । तर एमाले लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री लिला गिरीले भने रावत आफ्नो कमिटीमा नभएको जानकारी दिएका छन् ।
अध्यक्ष गिरीले रावत जुनसुकै पार्टीमा आबद्ध भए पनि कारवाहीको भागिदार हुनुपर्ने बताए । घटनाका दोषीलाई कडा कारवाहीको माग गरिएको पनि उनले उल्लेख गरे ।
रावतसहितका व्यक्तिको आक्रमणबाट ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका थिए। जेठ ४ गतेदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको थियो । उनको मृत्यु पश्चात उनका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयू कक्षमा समेत तोडफोड गरेका थिए । घटना लगत्तै प्रहरीले मृतकका मानबहादुर रावत र उनका दुई छोरालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
घटनाको छानबीन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट नेतृत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले समितिले आजैदेखि काम थाल्ने उल्लेख गरे ।
स्वास्थ्यकर्मी आन्दोलित
घटनाको विरोधमा भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीलाई कुट्नेमाथि अविलम्ब कारवाहीको माग गर्दै उनीहरुले शुक्रबार बिहानैदेखि अस्पताल परिसरमा नाराबाजीसहित आन्दोलनमा उत्रेका हुन् ।
भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीमाथि विहीबार सांझ आक्रमण भएको थियो । लाठि चार्जसहित मृतकका आफन्त आक्रमण गर्न आएपछि डाक्टर र नर्सले एक तलामाथिको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए ।
शुक्रबार प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीले ‘के स्वास्थ्यकर्मीले सधैं कुटाई नै खाने हो ?’, ‘नो सेक्युरिटी, नो वर्क’ जस्ता नारा लगाउँदैं संक्रमितको उपचारमा खटिएका महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल खसाउने खालका क्रियाकलाप बन्द गर्न माग गरेका छन् ।
अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले अन्धाधुन्ध रूपमा तोडफोड र हातपात हुन थालेपछि चिकित्सकसहित स्टाफ नर्स काम छोडेर भाग्नु परेको बताउँदै त्रासको अवस्थामा स्वाथ्यकर्मीले काम गर्न नसक्ने बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij