२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

कोरोना संक्रमित बिरामी तथा स्वास्थ्यकर्मीलाई जनमुक्ति पार्टीको निःशुल्क खाना 

शुक्रवार , जेठ १४, २०७८

बुटवल, १४ जेठ । 
रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन सुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन सुरु गरेको हो । 

शुक्रबारदेखि शुरु भएको अभियान आउँदो एकहप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले बताए । निषेधाज्ञाका कारण होटेलहरु र यातायात सेवा समेत बन्द हुँदा अस्पताल भर्ना भएका बिरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको हो कार्यक्रमका मुख्य सहयोगी एवं जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले बताए । 

पार्टी नेता कार्यकर्ताबाट करिब २ लाख रुपैयाँ संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको मंगलापुरस्थित पार्टी कार्यालयमा तयार गरी प्याकेटमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अस्पतालमा वितरण गरिने उनले बताए । 

पार्टीका जिल्ला अध्यक्ष प्रेम थापाले सरकारी निकाय गैरजिम्मेवार बनेको अवस्थामा उपचारमा रहेका संक्रमित र स्वास्थ्यकर्मीलाई सहज र प्रोत्साहन होस् भनेर सामाजिक उत्तरदायित्व वहन गरेको बताए । उनले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा रहेर गर्ने डाक्टर तथा नर्सहरुलाई पार्टीले सम्मान गर्ने बताए ।

बुटवल कोभिड अस्पतालमा खाना खुवाउने कामका लागि जनमुक्ति युवा महासंघका तिलोत्तमा अध्यक्ष बुद्धि थापा र भीम अस्पतालमा खाजा खुवाउने कामका लागि जनमुक्ति युवा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डीबी थापालाई संयोजक तोकिएको छ ।