२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ : मुख्यमन्त्री पोखरेल

शनिवार , जेठ १५, २०७८

भैरहवा, १५ जेठ । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको बताएका छन् । उनले गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको बताए ।

गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिदै मुख्मन्त्री पोखरेलले गणतन्त्र केवल शासन पद्दति मात्र नभएर नागरिकको जीवन पद्दति भएको उल्लेख गरेका छन् । वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण लामो संघर्ष र बलिदानले सम्भव भएको उनको भनाइ छ । 

‘नागरिक सार्वभौम बनेको यो दिन नेपालको राजनैतिक इतिहासको अविस्मरणीय दिन हो, यो दिन जनताको संघर्ष र बलिदानले सार्थकता पाएको दिन  हो ’उनले भनेका छन् ।

नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको मुख्यमन्त्री पोखरेलले बताए । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापित र संस्थागत गर्न भएका प्रयासमा सबैको सार्थक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हामी दृढसंकल्पित छौं । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्नेछ, शुभकामना सन्देशमा उल्लेख छ । शासन प्रणाली बलियो हुँदा नै दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन हुँदै जाँदा नागरिकले विकास र  समृद्धिको आकांक्षा पूरा गर्दै जाने उनले बताए । प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको र प्रदेशको योजनाबद्ध विकासको आधार तयार भएको उनले बताए । ‘प्रदेश सरकार विकासको मेरुदण्ड हो भन्ने नागरिकले अनुभूति गर्न पाएका छन्, ’उनले भने ।

नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारमा तीनै तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेको मुख्यमन्त्री पोखरेलको भनाइ छ । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको उनले बताए । 

‘यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं । संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गरौं । सबैको सार्थक सहयोगबाट नै महामारीलाई जित्न सकिन्छ, शुभकामना सन्देशमा भनिएको छ ।

प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएर कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाएको र यसका साथै जिल्ला अस्पतालहरुको स्तरोन्नतिको काम अघि बढेको उनले बताए । अस्पतालहरुका अक्सिजन प्लाण्ट स्थापना गर्न बजेट विनियोजन भइ काम अघि बढेको उनको भनाइ छ । अस्पतालको आवश्यकता र माग अनुसार अरु पूर्वाधार निर्माणका काम पनि अघि बढेको मुख्यमन्त्री पोखरेलले बताए । 

कोभिड-१९ को महामारीबाट नागरिकलाई जोगाउन सरकारले निषेधाज्ञा जारी गरेको र निषेधाज्ञा जारी गर्दा नै परिस्थितिलाई नियन्त्रणमा राख्न सम्भव भएको उनको भनाइ छ । कोरोनाविरुद्धको लडाईंलाई जित्न नागरिकको सजगता र सहयोगबाट सम्भव भएको उनले बताए । राज्यले कोरोनाविरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए । ‘कोभिड-१९ महामारीविरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं ’शुभकामना सन्देशमा भनिएको छ ।191853082_4585261524834721_4888019225787731676_n.jpg191807044_4585261928168014_2987846196343786770_n.jpg