
शनिवार , जेठ १५, २०७८
भैरहवा, १५ जेठ ।
३१ औं स्थापना दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई सहयोग गरेको छ । राप्रपा रुपन्देहीले शनिबार अस्पताललाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेको पार्टीका रुपन्देही जिल्ला निवर्तमान उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
राप्रपाले अस्पताललाई मास्क १ हजार ५ सय थान, ग्लोब्स ५ सय थान, सेनिटाइजर ७० बोतल, व्यक्ति सुरक्षा सामग्री (पीपीई) १७ थान र बिरामीहरुको लागि ७५ थान च्वयनप्रास उपलब्ध गराएको गुप्ताले जानकारी दिए । ‘स्थापना दिवसको अवसरमा कोरोना महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम गर्न सकेनौ, त्यसैले अस्पताल र यहाँ उपचाररत बिरामीलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री तथा पौष्टिक आहार हस्तान्तरण गरेका हौं, ’उनले भने ।
राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले उक्त सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् । सामग्री ग्रहण गर्दै अध्यक्ष भण्डारीले कोभिड महामारीको बेला संक्रमित बिरामीले अस्पताल भरीभराउ भएको बेला राप्रपाले सहयोग गर्नु प्रशसंनीय रहेको बताए ।
हस्तान्तरण कार्यक्रममा राप्रपा रुपन्देहीका निवर्तमान उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, क्षेत्र नम्बर ३ का उपाध्यक्षद्वय डा. अमित चतुर्वेदी, गोपाल भण्डारी, सिद्धार्थनगर अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्ययक्ष शंकर खत्री, राप्रपा नेता नारायण उपाध्याय, भीम अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवाली, कोभिड फोकल पर्सन डा. आरिफ हुसेन, आकस्मिक कक्ष इञ्चार्ज सविता शर्मा, जनकराज पन्त लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij