
शनिवार , भाद्र ६, २०७७
नवलपरासी, ६ भदौ । पश्चिम नवलपरासीमा भदौ १० गतेसम्मको लागि पुनः निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढ्दो अवस्थामा रहेको भन्दै जिल्ला सुरक्षा समितिको बैठक शनिबार बसेको थियो ।
सो बैठकको निर्णय अनुसार भदौ ६ गते (शनिबार) राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मको लागि पुनः निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । थप गरिएको निषेधाज्ञा अवधिमा मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, भेला जस्ता सामुहिक जमघट हुने कार्यहरु गर्न रोक लगाइएको छ ।
त्यस्तै सो अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक अन्य कुनै पनि सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । त्यस्तै तरकारी, फलफूल, दुध लगायत अत्यावश्यक खाद्यान्नका पसलहरु निश्चित समय सिमा तोकेर सञ्चालनको लागि भने जिल्लाका पालिकाहरुले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।
निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर मात्रै निस्कन आग्रह गरिएको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । यसअघि गत साउन ३२ गतेदेखि भदौ ६ गते राति १२ बजेसम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४२ छ भने ५ सय भन्दा बढीको स्वाव संकलन गरेर पठाइएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij