२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

उपनिर्वाचनको तयारी पुरा, जसपाका चार सांसदलाई पनि मत हाल्ने अधिकार

आइतवार , जेठ १६, २०७८

दाङ, १६ जेठ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी भएको छ । लुम्बिनी प्रदेशको दाङको घोराहीमा सोमबार बिहान ९ बजेदेखि हुने उपनिर्वाचनको तयारी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी बताए । उनले निर्वाचनको सबै तयारी भइसकेको र आफुहरुले मतदाताहरुलाई पर्खिएर बसेको बताए । उनका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत र अरु कर्मचारीहरु खटिसकेका छन् । 

त्यस्तै राष्ट्रिय उपनिर्वाचनमा कोरोना पोजेटिभ भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको समेत उनले बताए । मतदानका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा ३ वटा केन्द्र बनाइएको छ । बिहान ९ बजे देखि दिउँसो ३ बजे सम्म मतदान समय तोकिएको समेत उनले बताए । त्यस्तै उनले कोरोना महामारीको समयमा मतदान भएकाले आफूले त्यसतर्फ ध्यान दिएको समेत बताए । उनले भने,‘मतदान गर्न आउने सबैलाई पीसीआर रिपोर्ट अनिवार्य ल्याउन भनेका छौँ । ३ वटा मतदान केन्द्रमा २/२ जना स्वास्थ्यकर्मीहरू राखिने छ । मास्क अनिवार्य छ । हामी सबै कर्मचारीहरूले पनि स्वास्थ्य मापदण्ड पालना गरेर खटिने छौं ।’

त्यस्तै एन्टिजनको पनि व्यवस्था गरेको भन्दै उनले कुनै पनि मतदातालाई कोरोना पुष्टि भए कोभिड वार्डमा राखिने समेत बताए । सम्भव भएसम्म दिउँसो ३ः३० बजेबाट मतगणना सुरु गरिने पनि अधिकृत थापाले बताए । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै यस अघि निर्वाचन कार्यालयले यस अघि उपनिर्वाचनमा ७९ जना प्रदेशसभा सदस्यले मात्र मतदान गर्ने भनेर नामावली निकालेको थियो । 

तर आयोगले आइतबार मात्रै राष्ट्रिय जनता पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि मतदानको अधिकार दिएको छ । यसअघि पार्टीको एक पक्षबाट कारवाहीको आधारमा आइतबार दिउँसोसम्म उनीहरुलाई मताधिकार प्रदान गरिएको थिएन । जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कंवरका अनुसार निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार थप ४ जना सांसदलाई पनि पूरुक मतदाताको अधिकार दिइएको हो । योसहित अब लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् । 

आयोगको पछिल्लो निर्णय संगै आइतबार दिउँसोसम्म मताधिकारबाट वञ्चित रहेका लुम्बिनी प्रदेश सरकारका मन्त्री समेत रहेका जसपा सांसदहरु सन्तोष कुमार पाण्डेय, सुमन शर्मा रायमाझी,  विजय बहादुर यादव र कल्पना पाण्डेय पनि मतदान गर्न पाउने भएका छन् । त्यसअघि भने पार्टीले कारवाही गरेको हुँदा उनीहरुले मतदान गर्न नपाउने भनिएको थियो । त्यस्तै उपनिर्वाचनमा प्रदेशभरका २१७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।