नवलपरासी, १७ जेठ ।
रोजगारीको लागि युएईमा रहेका पश्चिम नवलपरासीका युवाहरूको सञ्जाल परासी सेवा समाज युएईले सोमबार पश्चिम नवलपरासीका अति विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
सो संस्थाले सुनवल नगरपालिकाका वडा नम्बर ३,६,११,१२,१३, बर्दघाट नगरपालिकाका वडा नम्बर १२ र सरावल गाउँपालिकाका २ र ३ वडाका ५६ अतिविपन्न परिवारलाई १ लाख १२ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो । सम्बन्धित वडाले सिफारिस गरेका अति विपन्न परिवारको लागि सोहि वडाका वडाध्यक्ष तथा प्रतिनिधि मार्फत सुनवल-१२ भुमहीबाट सो खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।
पछिल्लो समय कोभिड-१९ को दोस्रो भेरियन्ट सुरु भएपछि देशभर जारी निषेधाज्ञाको कारणले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुका निकै समस्या भएको भन्दै आफुहरुले युएईमा रहेका पश्चिम नवलपरासीका युवाहरुबाट आर्थिक रकम जुटाई खाद्यान्न सामाग्री सहयोग गरेको परासी सेवा समाज युएईका अध्यक्ष कोषप्रसाद न्यौपानेले बताए ।
उनका अनुसार प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, २ केजी आलु, २ लिटर खाने तेल, २ केजी सोयाबिन र १ केजी नुन सहयोग गरिएको छ । सामाग्री वितरण कार्यक्रममा सहभागी सुनवल १२ का वडाध्यक्ष यमलाल पाण्डेले विदेशमा पसिना बगाई कमाएको पैसा बचाएर महामारीको समयमा जिल्लाका विपन्न परिवारका लागि सहयोग जुटाउन अग्रसर सबैलाई धन्यवाद दिए ।
सो सामाग्री सहयोग गर्न जिल्लाबाट सोही संस्थाका संस्थापक अध्यक्ष मित्रलाल पाण्डे, सदस्यहरु टिकाराम ढकाल, कृष्ण ढकाल, विष्णु भट्टराई, दामोदर लामिछाने लगायतले आवश्यक सहजीकरण गरेका थिए । सन् १०१६ मा स्थापित परासी सेवा समाज युएईले अन्य समयमा पनि निरन्तर सामाजिक सेवा गर्दै आएको छ ।