
मंगलवार , जेठ १८, २०७८
भैरहवा, १८ जेठ ।
सेवा इन्टरनेशनल, नेपाल र हिन्दु स्वयंसेवक संघ, नेपालले भैरहवास्थित केशवधाममा १५ शय्याको कोभिड आइसोलेशन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । हिन्दु स्वयंसेवक संघ, नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित भैरहवाको नवनिर्मित कार्यालय भवनमा १५ शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।
आइसोलेशन सेन्टरको मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेशन सेन्टर निर्माण गरी भीम अस्पताललाई हस्तान्तरण गर्नु उदाहरणीय कार्य रहेको बताए । उनले भीम अस्पतालले विगतको तुलनामा धेरै कोरोना संक्रमित बिरामीहरुको उपचार गरेर निको पार्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।
‘हिन्दु स्वयंसेवक संघ, नेपालले गरेको यो पहिलो काम होइन, विगतका वर्षहरुदेखि नै नाम जस्तै संघले स्वयंसेवा गर्दै आएको छ, विभिन्न क्षेत्रमा संघले हात अगाडी बढाएको छ, ’मन्त्री पाण्डेयले भने । आफू स्वास्थ्यमन्त्री नभए पनि प्रदेश सरकारको मन्त्री भएकोले आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालहरुमा बेडको अभाव भएको बेला सेवा इन्टरनेशनल र हिन्दु स्वयंसेवक संघले आइसोलेशन सेन्टर बनाउनु पुण्य काम भएको बताए । उनले अस्पताल हिन्दु स्वयंसेवक संघ संग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
समाजसेवी अजय कुमार गुप्ताले राज्यले सोचे अनुरुप बिरामीको उपचार तथा व्यवस्थापन गर्न नसकेको बेला गैरनाफामूलक संस्थाले १५ शय्याको आइसोलेशन सेन्टर बनाउनु स्वागतयोग्य कार्य भएको बताए । उनले आइसोलेशन सेन्टर यस क्षेत्रकै गहनाको रुपमा रहेको बताए ।
आइसोलेशन सेन्टर निर्माण समितिका संयोजक उमाशंकर पाठकले अक्सिजन कन्सनट्रेटर आउन केही ढिलाइ भएकोले आइसोलेशन सेन्टर सञ्चालनमा पनि थोरै ढिलाइ हुन पुगेको बताए । उनले समाज र देशको लागि केही काम गर्नुपर्छ भन्ने उद्देश्यले आइसोलेशनमार्फत कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गरिने बताए ।
१५ शय्यामध्ये १० वटा बेड अक्सिजन कन्सनट्रेटर र ५ वटा सामान्य अवस्थाका बिरामीका लागि बिना अक्सिजन आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको हिन्दु स्वयंसेवक संघ नेपालका रुपन्देही जिल्ला सेवा प्रमुख सुरज उपाध्यायले बताए । उनले बिरामीको उपचारमा कुनै कमी नहोस् भन्ने उद्देश्यले औषधी लगायतका स्वास्थ्य सामग्री समेत राखिएको जानकारी दिए ।
आइसोलेशन सेन्टर भीम अस्पतालको मातहतमा सञ्चालन हुने गरी मंगलबार अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको हिन्दु स्वयंसेवक संघ, नेपालका भैरहवा नगर सेवा प्रमुख राजन शुक्लाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij