
बिहिवार , जेठ २०, २०७८
भैरहवा, २० जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीले कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न र सम्बन्धित सरकारी निकायसंग सहकार्य गर्न ‘कोभिड–१९ रेस्पोन्स टिम’ गठन गर्ने निर्णय गरेको छ । जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा जिल्ला इञ्चार्ज देवेन्द्र पाण्डेय ‘सागर’ को विशेष उपस्थितिमा बुधबार भैरहवामा बसेको पदाधिकारी तथा युवा संघका पदाधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले युवा नेतृत्वको सहयोग र सहकार्यमा सामाजिक उत्तरदायित्वसहितको राजनीतिक अभियान कार्यक्रम विशेषतः कोभिड प्रभावित क्षेत्र लगायत जिल्लाभरीका सम्पूर्ण स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।
बैठकले कोभिड–१९ को बेला आइपर्ने विपद् व्यवस्थापनमा जसपा नेतृत्व पंक्ति सदैव र अहोरात्र खटेको ठहर गर्दै छुट्टाछुट्टै भइरहेका यी प्रयासहरुलाई एकीकृत र संगठित ढंगले अझै प्रभावकारी बनाउन ‘जसपा विपद् व्यवस्थापन समिति, रुपन्देही’ भन्ने अधिकारसम्पन्न विभाग गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै होम आइसोलेशन तथा अस्पतालमा रहेका संक्रमितहरुको आत्मबल बढाउन सानो कोसेलीसहितको सुस्वास्थ्य लाभ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।
बैठकले जिल्लाको १६ वटै स्थानीय तहका पार्टी प्रमुखहरुको संयोजकत्वमा कोभिड–१९ महामारी लगायत निकट भविष्यमा आइपर्ने विपद् व्यवस्थापनका लागि पालिकास्तरीय ‘विपद् व्यवस्थापन टिम’ गठन गर्न निर्देशन दिएको छ ।
त्यस्तै गरी बैठकले हाल देखिएको रगत अभावलाई कम गर्न अनिवार्य रुपमा पालिकास्तरीय रक्तदान कार्यक्रम समेत गर्ने निर्णय गरेको छ ।
जिल्लाका युवा संगठनमा आबद्ध रहेका सम्पूर्ण युवा नेतृत्वहरुलाई विपद व्यवस्थापन समितिमा अनिवार्य रहने गरी तत्कालिन महामारी र निकट भविष्यमा आउन सक्ने विपद् व्यवस्थापनसम्बन्धि आवश्यक न्युनतम तालिमको व्यवस्थापन गर्ने निर्णय भएको छ, ‘जिल्ला अध्यक्ष यादवले खबरपात्रोसंग भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij