
शनिवार , जेठ २२, २०७८
परासी, २२ जेठ ।
विश्व वातावरण दिवस–२०७८ को दिवस पारेर नवलपरासीको परासी बजारमा वृक्षारोपण गरिएको छ । रामग्राम नगरपालिका र डिभिजन वन कार्यालयको संयुक्त सहकार्यमा परासीको बुद्धचोकदेखि निलोगेटसम्म निर्मित फोरलेन बाटोकोबीच डिभाइडरमा वृक्षारोपण गरिएको हो ।
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यतामा उक्त डिभाइडरमा ७६ वटा विभिन्न प्रजातीका फुल विरुवाहरु रोपण गरिएको हो ।
रामग्राम नगरपालिकाले परासी बजारलाई ग्रीन सिटी बनाउने नीति अनुसार आज विश्व वातावरण दिवसको अवसर पारेर परासी बजारको मुख सडकको बीच डिभाइडरमा रंगबिरंगीको फूल बिरुवा रोपण कार्य सुरु गरिएको र सो सडकको दुबै साइडमा केही दिनमै थप फुल विरुवाहरु रोपी सडकलाई हराभरा बनाइने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
नगरप्रमुख गुप्ताले झरही खोलादेखी मन्झरिया चोकसम्मको सडक, परासी बजार र पोखरापाली लगायतको निर्माणाधीन सडकहरुको कामलाई छिटो सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई निर्देश दिदै सम्पन्न हुने ती सडकहरुमा पनि फूलविरुवा रोपण गरी परासी बजारलाइ ग्रीन सिटी बनाइने पालिकाको योजना रहेको बताए ।
परासी बजारको सबै सडकहरु निर्माण भै सकेपछि सडको डिभाइडर र सडको दुवै साइडमा फूलविरुवा रोपी बजारलाइ सुन्दरीकरण गर्ने र बजारलाइ बुद्धको नगरीको रुपमा चिनाउन मुख्य मुख्य चोकमा बुद्धको मुर्ति समेत स्थापना गर्ने नगरपालिकाले नीति लिएको नगरप्रमुख गुप्ताले जानकारी दिए ।
बजारको बुद्धचोकदेखि निलो गेटसम्मको फोरलेन बाटी पीच भइ सजावटको कार्य हुँदै छ भने मन्झरिया चोकदेखि झरीखोलासम्मको बाटो निर्माणाधिन अवस्थामा रहेको छ ।
यता बाइपासदेखी महेशपुर चोकसम्म पनि फिरलेन बाटो पीच भइ रेलिङ र पेटीको कार्य भइरहेको र महेशपुर चोकमा सुन्दर बुद्ध्त्व झल्किने घण्टाघर पनि निर्माण भइरहेको छ । यो सबै कार्य सम्पन्न भएपछि परासी बजारको सुन्दरता झल्किने र स्वच्छ वातावरण हुने नगरपालिकाले बिश्वास लिएको छ । कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख शिवशंकर रायले विश्व वातावरण दिवसको शुभकामना दिदै वृक्षारोपण गरी बजार लगायतका क्षेत्रहरुमा बढी भन्दा बढी विरुवा रोपी सो क्षेत्रहरुलाई हराभरा र स्वच्छ वातावरण बनाउन हामी सबैको सामाजिक दायित्व रहेको बताए ।
कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवर, अतिथि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, डिभिजन वन कार्यालय प्रमुख शंकर प्रसाद गुप्ता, वडा ५ का अध्यक्ष विनोद कुंवर लगायतले वृक्षारोपणबाट बजार हराभरा र वातावरण पनि स्वच्छ हुने भएकोले यो वृक्षारोपण कार्य राम्रो गरिएको र रोपिएका गरिएको फूलविरुवाहरुलाई संरक्षण गर्न पनि त्यतिकै आवश्यक रहेको बताए । वृक्षारोपणका लागि फूलविरुवाहरु डिभिजन वन कार्यालयले उप्लब्ध गराएको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक अजय केसी, सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी, रामग्राम नगरपालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष सुरज पाण्डे, उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रोटरी क्लब नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij