
शनिवार , जेठ २२, २०७८
गुल्मी, २२ जेठ ।
दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मुलुक आक्रान्त छ । कोरोना संक्रमणको रोकथाम तथा न्यूनीकरणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका कारण दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका मजदूर र उनका परिवार प्रत्यक्ष मारमा परेका छन् । तर यसरी बिहान बेलुकी छाक टार्न धौधौ भएका विपन्न परिवारलाई गुल्मीका युवाहरुले सामाजिक संजालमार्फत संकलन भएको रकमबाट ४९ घरपरिवारलाई खाद्यान्न वितरण गरी समाजमा उदारणीय काम गर्न सफल भएका छन् ।
जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका युवाहरुले म्यासेन्जरमा ‘परोपकारी मनहरु पुर्कोट’ नामको ग्रुपबाट संकलन भएको रकमबाट विपन्न परिवारलाई राहत बितरण गरेका हुन् ।
मदाने गाउँपालिका वडा नम्बर ६ भित्रका विपन्न ४९ घरदुरीलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको अभियन्ता महेश कुंवरले जानकारी दिए । सामाजिक संजालबाट संकलन भएको रकमबाट चामल, तेल, दाल, नुन लगायतका खाद्यान्न सामग्री प्रदान गरेको अभियान्ता कुवरले बताए । उनीहरुले पालिकाभित्र रहेका विपन्न तथा परिवार संख्या हेरेर खाद्यान्न वितरण गरेका छन् ।
४९ घरधुरीमध्ये चार जना बढी परिवार संख्या भएका १६ घरपरिवारको लागि ५०/५० किलो चामल, तेल, नुन र दाल दुई किलोका दरले प्रदान गरिएको छ भने कम परिवार संख्या भएका २२ परिवारको लागि ३०/३० किलोको चामल, तथा नुन, तेल र दाल २/२ किलो वितरण गरिएको छ ।
११ परिवारलाई २५/२५ किलो चामल तथा तेल, नुन र दाल २/२ किलो प्रदान गरिएको छ । अभियन्ता कुंवरले युवाहरुको सक्रियतामा संकलन भएको १ लाख ५० हजार भन्दा बढी रकमले उक्त खाद्यान्न प्रदान गरिएको बताए ।
सामाजिक संजाल म्यासेजरबाट ‘परोपकारी मनहरु पुर्कोट’ नामबाट बनाएको ग्रुपमार्फत ५० हजार भन्दा बढी रकम संकलन गरेका छन् । यस्तो विपद्को समयमा आफूहरुले सामाजिक संजालबाट संकलन भएको रकमले विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न पाउँदा अभियान्ता कुंवरले खुशी व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij