२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

चुरे दोहन गरी भारत निकासी गर्ने नीति फिर्ता लिन विपक्षी गठबन्धनको माग

आइतवार , जेठ २३, २०७८

बुटवल, २३ जेठ ।

संघीय संसदको विपक्षी गठबन्धनले चुरे दोहन गरी खानीजन्य पदार्थ ढुंगा, बालुवा र गिट्टीको भारततर्फ निकासी गर्ने निर्णय अविलम्ब फिर्ता गर्न सरकारसंग माग गरेको छ । 

गठबन्धनले विज्ञप्ती जारी गर्दै सरकारले मुलुकको व्यापार घाटा कम गर्ने भन्दै आगामी आर्थिक वर्षको बजेटमार्फत खानीजन्य पदार्थ ढुंगा, बालुवा र गिट्टीको निकासी गर्ने नीति ल्याइएकोले यसको बिरोध गर्दै तत्काल फिर्ता गर्न माग गरिएको हो। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी गरेका छन् ।

विज्ञप्तीमा उक्त नीतिले नेपालको तराई क्षेत्रलाई मरुभूमीकरण गर्ने र त्यहाँका बसिन्दालाई बाढी, डुबान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने तर्क गरिएको छ । साथै प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका स्थितिमा मन्त्रिपरिषद्मा पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरिएको आरोप गठबन्धनले लगाएको छ ।

यस्तै आयोडिनयुक्त नूनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकामा हालै बजेटमार्फत कसैलाई फाइदा पुर्याउने तथा प्रश्रय दिने मनसायबाट बजेटमा नयाँ थप व्यवस्था गरेको आरोप पनि लगाउँदै विपक्षी गठबन्धनले उक्त निर्णय पनि तत्काल फिर्ता लिन समेत माग गरेको छ ।

विज्ञप्तीमा कोभिड–१९ संक्रमण, रोकथाम नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न समेत माग गरिएको छ ।