
आइतवार , जेठ २३, २०७८
भैरहवा, २३ जेठ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीको बैठक आइतबार भैरहवामा सम्पन्न भएको छ । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादवको अध्यक्षता, जिल्ला इञ्चार्ज देवेन्द्र पाण्डेय ‘सागर’को विशेष उपस्थिति तथा जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले पार्टीका केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारीहरु पदेन सल्लाहकार, पार्टीका स्थानीय पालिका प्रमुख र निर्वाचित अध्यक्षहरु पदेन सदस्य रहने गरी रवि कुमार रौनियारको संयोजकत्वमा २१ सदस्यीय ‘जनता समाजवादी विपद् व्यवस्थापन समिति’ गठन गरेको छ ।
समितिको सदस्यहरुमा अर्जुन प्रसाद जयसवाल, अब्दुल मोबिन, बामदेव भुसाल, पुरुषोत्तम कंडेल, रोहित सहानी, तेज कुमार घिमिरे, रमेश पाण्डे, सुनिल जयसवाल, चन्द्रभुषण यादव, केशवनन्द बनिया, पंजाबी यादव, सनोज यादव, बच्चु लाल केवट, तौलन केवट, जयशंकर पाठक, सुशिला थारु, कृष्णकान्त यादव, अमरजीत यादव, सोमनाथ शर्मा र हरिशचन्द्र सैंथवार रहेका
छन् ।
बैठकले कोरोना महामारीको समयमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै यही जेठ २६ गते बुधबार खुल्ला रक्तदान गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ । जनता समाजवादी विपद् व्यवस्थापन समिति रुपन्देहीको आयोजनामा बुधबार बिहान ९ बजे भैरहवास्थित जसपा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गर्ने पार्टीका रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादवले जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई रुपन्देहीका १६ वटै स्थानीय तहहरुमा निरन्तरता दिने निर्णय गरिएको यादवले जानकारी दिए ।
त्यस्तै होम आइसोलेशन तथा अस्पतालमा रहेका कोभिड–१९ बाट संक्रमितको मनोबल बढाउने उद्देश्यले जेठ २५ गतेदेखि जिल्लाका सम्पूर्ण स्थानीय तहमा ‘सानो कोसेलीसहितको सुस्वास्थ्य लाभ कार्यक्रम’ सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij