
आइतवार , जेठ २३, २०७८
भैरहवा, २३ जेठ ।
मारवाडी युवा मंच भैरहवाले रुपन्देहीको शुद्धोधन गाउँपालिकाद्वारा सञ्चालित कोभिड–१९ अस्थायी अस्पताललाई सहयोग गरेको छ । शुद्धोधन–४ स्थित मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित कोभिड अस्पताललाई मंचले आइतबार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।
अस्पताललाई मास्क, सेनिटाइजर, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) किट, अक्सिजन कन्सनट्रेटर, थर्मल गन, अक्सिमिटर लगायतका सामग्री हस्तान्तरण गरिएको मारवाडी युवा मंच, भैरहवाका अध्यक्ष मनोज कुमार अग्रवालले बताए । कोरोना संक्रमितको उपचार गरिरहेको अस्पताललाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको अग्रवालले बताए । ‘कोरोना महामारीको यो विषम परिस्थितिमा हामीले पनि आ–आफ्नो क्षेत्रबाट महामारीको रोकथामको लागि केही न केही अवश्य नै गर्नुपर्छ भन्ने सोचका साथ अगाडी बढेका छौं, ’सक्दो सहयोग गर्दै आएका छौं र गर्नेछौं, उनले भने ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कंडेलको अध्यक्षता, गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता, वडा नम्बर ६ का अध्यक्ष जयशंकर पाठकको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा मारवाडी युवा मंच भैरहवाका अध्यक्ष मनोज अग्रवाल, सुशिल बंसल, अनिल शर्मा, हिन्दु स्वयंसेवक संघ नेपालका रविकान्त उपाध्याय, राजन शुक्ला लगायतको उपस्थिति रहेको थियो ।
शुद्धोधन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समिर पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य सेवा संयोजक पौडेलका अनुसार कोभिड–१९ अस्थायी अस्पतालमा हाल ३ जना कोरोना संक्रमित उपचारत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij