२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

देवदहमा ६ केन्द्रमार्फत ६२–६४ वर्ष उमेर समुहलाई कोरोनाविरुद्धको खोप 

सोमवार , जेठ २४, २०७८

बुटवल, २४ जेठ ।

रुपन्देहीको देवदह नगरपालिकाले भोलि मंगलबारदेखि तोकिएको उमेर समुहलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाउने तयारी गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशित गरी नगरभित्र कुल ६ वटा खोप केन्द्र तोकिएको र ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई पहिलो मात्रा खोप लगाउने तयारी गरिएको जनाएको छ । 

नगरपालिकाका अनुसार वडा नम्बर १, २ र ३ लाई समेट्ने गरी केरवानी स्वास्थ्य चौकी ढेकावर, वडा नम्बर ५, ६ र ७ लाई समेट्ने गरी देवदह स्वास्थ्य चौकी खैरेनी, वडा नम्बर ११ र १२ लाई समेट्ने गरी सिक्टहन स्वास्थ्य चौकी ढोलबजवालाई खोप केन्द्र तोकेको छ । 

त्यसै गरी वडा नम्बर १० को लागि चरङ्गे सामुदायिक स्वास्थ्य इकाई चरङ्गे, वडा नम्बर ४ को लागि भवानीपुर शहरी स्वास्थ्य केन्द्र भवानीपुर तथा वडा नम्बर ८ र ९ लाई समेट्ने गरी देवदह मेडिकल कलेज भलुहीलाई केन्द्र तोकेको नगरपालिकाले जनाएको छ ।
देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले नागरिकता वा उमेर खुल्ने अन्य कागजसहित तोकिएको वा पायक पर्ने स्थानमा आएर खोप लगाउन आग्रह गरेका छन् । खोप लगाउने कार्यक्रम बिहान १० बजेबाट सुरु हुनेछ ।