२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आइसोलेशनको क्षमता बढाउन नेकपा रुपन्देहीको माग

आइतवार , भाद्र ७, २०७७


बुटवल, ७ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रूपन्देही जिल्ला कमिटीले रुपन्देहीमा जारी लकडाउनलाई पूर्ण कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको छ ।

जिल्ला कमिटी कार्यालयको आइतबार बुटवलमा बसेको बिस्तारित बैठकले जिल्ला सिसिएमसीको निर्णयलाई कार्यान्वयन गर्न सम्पूर्ण पार्टी पक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।

कोभिड–१९ महामारी सम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना र भौतिक दुरी कायम गरी सम्पन्न भएको बैठकमा कोरोना महामारीले जिल्लामा पारेको प्रभावको गम्भिर समीक्षा भएको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

बैठकले स्थानीय पालिकाहरूलाई समयमै क्वारेन्टाइन र आइसोलेशनको क्षमता बढाउने काम तत्काल अघि बढाउन आग्रह गर्दै सम्पूर्ण पार्टी पंक्तिलाई सहयोगात्मक भूमिका निर्वाह गर्न निर्देशित गरेको छ । त्यसै गरी बैठकले प्रदेश सरकारलाई भेन्टिलेटर, आईसीयूसहितको अस्पतालमा बेडको संख्या तत्काल बढाउन आग्रह गरेको छ ।

बैठकले जिल्लाका विभिन्न स्थानमा देखिएका संक्रमितहरूप्रति सकारात्मक, सहयोगी र मानवीय व्यवहार गर्नु सबैको दायित्व भएको महसुस गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, सामाजिक संघ–संस्था र टोलवासीहरूलाई आग्रह गरेको चापागाईले जानकारी दिए ।

बैठकले पार्टी केन्द्रको विवादका सम्बन्धमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले समाधानका लागि निष्कर्षसहितको प्रतिवेदन बुझाएकोमा कार्यकर्तामा उत्साह देखिएको ठहर गर्दै कार्यदलप्रति धन्यवाद व्यक्त गरेको छ । 

बैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज लिला गिरीले केन्द्रमा देखिएका सम्पूर्ण विवादहरूको समाधान महासचिव पौडेलको संयोजकत्वमा गठीत कार्यदलले अध्यक्षद्वयलाई पेश गरेको प्रतिवेदनले गरिसकेकाले कार्यकर्ताहरूलाई उत्साहका साथ काममा लाग्न आग्रह गरेका थिए । अहिलेको मुख्य कार्यभार महामारीविरूद्वको लडाई भएको बताउँदै उनले स्थानीय, प्रदेश, संघीय सरकार, राजनैतिक पार्टीहरू तथा सामाजिक संस्थाहरू समेत हातेमालो गरेर यो लडाई जित्नुपर्ने बताए ।

पार्टी जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देही सह–इञ्चार्ज एकराज विश्वकर्मा, प्रदेश कमिटी संगठन विभाग प्रमुख भूमिश्वर ढकाल, प्रदेश कमिटी सदस्य पुरन गुरूङ, जिल्ला कमिटी सचिव निर्मल जिसी लगायतले विभिन्न विषयमा धारणा राखेका थिए ।