
बुधवार , जेठ २६, २०७८
भैरहवा, २६ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देहीले बुधबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘सामाजिक उत्तरदायित्वसहितको राजनीतिक अभियान’ अन्तर्गत ‘जसपा विपद् व्यवस्थापन समिति’ रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम भएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।
भैरहवा (सिद्धार्थनगर नगरपालिका–४) स्थित जसपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा २५ युनिट रगत संकलन भएको जसपा विपद् व्यवस्थापन समितिका संयोजक रवि कुमार रौनियारले जानकारी दिए । कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिन कार्यक्रमको आयोजना गरिएको रौनियारले बताए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा इकाईको प्राविधिक सहयोगमा भएको कार्यक्रममा जसपा केन्द्रीय सदस्य किस्मत वि.क., रुपन्देही जिल्ला इञ्चार्ज देवेन्द्र पाण्डेय सागर, सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जयसवाल लगायतको आतिथ्यता रहेको थियो ।
रक्तदान कार्यक्रमलाई रुपन्देहीका १६ वटै स्थानीय तहहरुमा निरन्तरता दिइने जसपा रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij