२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘स्थानीयको सहकार्यमार्फत लुम्बिनीको विकासमा टेवा पुग्छ’

आइतवार , भाद्र ७, २०७७

भैरहवा, ७ भदौ । 
कोरोना भाइरसको संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेको बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवद्र्धनको लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकाष कोष हातेमालो गरेर अगाडी बढ्ने भएका छन् ।

सामाजिक दुरी कायम गर्दै लुम्बिनी विकास कोषको सभाहलमा आइतबार आयोजित छलफलमा लुम्बिनी वरीपरिका विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।  उक्त छलफलमा सहभागीहरुले कोरोनाले लुम्बिनीमा पारेको असरबारे चिन्ता व्यक्त गरेका छन् ।

छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यले लुम्बिनी विकास कोषले पर्यटन प्रबद्र्धनमा गर्ने हरेक गतिविधिमा स्थानीयहरु सक्रियतापूर्वक साथ दिन तयार भएको बताए । उनले भने, ‘इतिहासमै पहिलो पटक स्थानीय बासिन्दा कोषको पदाधिकारी र जिम्मेवारीमा हुनुहुन्छ । यस्तो बेला स्थानीयसंग घनिष्ठता बढाएर काम गरेमा विकास कोषको योजना दीर्घकालिन हुन्छ ।’
अग्रज पत्रकार हेम विष्टले कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला लुम्बिनीमा त्यसको  परेको असरले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी पनि प्रभावित भएको बताउदैं कोषको सहकार्य जरुरी रहेको बताए ।

लुम्बिनी होटल संघ नेपालका महासचिव लिलामणी शर्माले लुम्बिनीको विकासमा स्थानीय होटल व्यवसायीहरु सधैं हातमा हात मिलाएर अगाडी बढ्न तयार भएको बताए ।

छलफलमा लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राइले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई पार लगाउन स्थानीयवासी, पर्यटन व्यवसायीसंग लुम्बिनी विकाष कोष सधै सहकार्य गरेर हिड्न तयार भएको बताए । उनले भने, ‘सम्यक दृष्टि र सम्यक संकल्पका साथ हामी काम गरिरहेका छौं, सबैको सहयोग र सहकार्य मार्फत कोरोना महामारीपछि संकट पार लगाउन सहज हुनेछ । 

छलफलमा प्रदेशसभा सांसद फखरुद्दीन खानले स्थानीयहरुको सहकार्यमार्फत नै लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । विकाष कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले लुम्बिनी वरिपरीको विकास दीर्घकालिन विकास लक्ष्यसहित अगाडी बढेको बताए ।

छलफलमा लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्य, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष मिथुनमान श्रेष्ठ, लुम्बिनी पर्यटन व्यवसायी संघका पिन्टु बानिया, उद्योग व्यपार संगठन लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ, मायादेवी आमा समुहका मञ्जु ढकाल, बौद्ध युवा समूह लुम्बिनीका धिरज गुप्ता, सिद्धार्थ होटल संघका एकरामुद्धिन खान, ट्याक्सी व्यवसायी संघका लुम्बिनी अनिल कुमार, सिद्धार्थ माला पसल व्यवसायी समूहका अरबिन्द बानिया, लुम्बिनी रेष्टुरेढट व्यवसायी संघका हरि भण्डारीको सहभागीता रहेको थियो ।