
बुधवार , जेठ २६, २०७८
भैरहवा, २६ जेठ ।
राउण्ड टेबल नेपालले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । राउण्ड टेबलले ‘प्रोजेक्ट लाइफ लाइन’ अन्तर्गत कोभिड संक्रमित बिरामीका लागि आवश्यक बी.पी.ए.पी. मेसिन अस्पताललाई प्रदान गरेको हो । राउण्ड टेबलले उक्त स्वास्थ्य उपकरण लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयको विशेष उपस्थितिमा भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समितिका सदस्य संगिता रेग्मी, मन्त्री पाण्डेयका वरिष्ठ सल्लाहकार बैजनाथ गुप्ता (बी.एन.) लगायतको उपस्थिति रहेको थियो ।
बी.पी.ए.पी.ले बिरामीलाई सास फेर्न सजिलो बनाउँछ । अस्पतालमा यो मेसिन अभाव भएका कारण मानिसको ज्यान जाने गरेको छ । संस्थाले नेपालका विभिन्न ८ वटा अस्पतालमा २५ लाखको लागतमा यो मेशिन निःशुल्क प्रदान गरिसकेको राउण्ड टेबल नेपालका राष्ट्रिय सचिव राहुल अग्रवालले बताए ।
संस्थाले विपन्न परिवारलाई शिक्षा प्रदान गर्नका लागि गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकासमा लगानी गर्दै आएको छ । हालसम्म ५१ वटा विद्यालयका ३३२ कक्षाकोठा निर्माण गरेको संस्थाबाट प्रत्येक वर्ष २० हजार विद्यार्थी लाभान्वित हुने गरेका छन् । त्यस्तै संस्थाले वार्षिक ४ हजार बढी विरामीलाई पनि सहयोग गर्दै आएको छ । राउण्ड टेबलमा १८ देखि ४५ वर्ष उमेर समुहका व्यक्ति आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij