२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सुरक्षाकर्मी तथा सर्वसाधारणलाई बिस्कुट–पानी बाँड्दै पञ्चकन्या समूह

बिहिवार , जेठ २७, २०७८

भैरहवा, २७ जेठ । 
पञ्चकन्या समूहले निषेधाज्ञाको पालना गराउन सडकमा खटेका सुरक्षाकर्मी तथा अत्यावश्यक कामका लागि सडकमा निस्किएका सर्वसाधारणलाई पानी तथा बिस्कुट उपलब्ध गराउँदै आएको छ । समूहले रुपन्देहीमा निषेधाज्ञा जारी भएको दिनदेखि हालसम्म रुपन्देहीको मणिग्रामदेखि भैरहवाको देवकोटाचोकसम्म रहेका सुरक्षाकर्मी तथा सर्वसाधारणलाई पानी तथा बिस्कुट वितरण गर्दै आएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा रहेको उद्योगले सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक दिन दिउँसो २ बजेदेखि ४/५ बजेसम्म बिस्कुट–पानी प्रदान गर्दै आइरहेको समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।  रुपन्देहीमा दिउँसोको समयमा अत्याधिक गर्मीका कारण आम नागरिकको सुरक्षा र निषेधाज्ञाको पालना गराउन खटिएका सुरक्षाकर्मी तथा अत्यावश्यक कामले घर बाहिर निस्किएका सर्वसाधारणलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले पानी तथा बिस्कुट प्रदान गर्दै आएको पञ्चकन्या समूहका प्रशासन प्रबन्धक राजेन्द्र ज्ञवालीले बताए ।

समूहले दैनिक एक सय जनादेखि डेढ सय जनासम्मलाई प्रदान गर्दै आएको बताएको छ । यस अघि समूहले भैरहवास्थित भीम अस्पताल तथा काठमाण्डौको वीर अस्पताल लगायतका अस्पतालहरुमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । समूहले गत वर्ष पनि कोभिडका कारण प्रभावित स्थानीयलाई खाद्यान्न वितरण गरेको थियो भने तिलोत्तमा नगरपालिकाको कोभिड प्रभावित राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको समुहका उपमहाप्रबन्धक साहुले जानकारी दिए ।