२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सुनवलमा वडाअध्यक्षसहित दुईजनामा कोरोना संक्रमण 

सोमवार , भाद्र ८, २०७७

नवलपरासी, ८ भदौ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा वडाध्यक्षसहित दुईजनामा  कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत साउन ३२ गते समुदाय स्तरमा १ सय ५ जनाको स्वाव संकलन गरी कोभिड–१९ परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएकोमध्ये आइतबार ९१ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी १४ जना मध्ये सोमवार २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । 

संक्रमित १२ वडाका वडाध्यक्ष यमलाल पाण्डे हुन् भने ११ वडाका १७ वर्षिय पुरुष हुन् । संक्रमित वडाध्यक्ष कोरोनाको जोखिम बढेसंगै नगरपालिकाले समुदायस्तरमा बनाएको क्वारेन्टाइन व्यवस्थापन कार्यमा सक्रिय भएर लागेका थिए । क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय हुँदाहुँदै सोही ठाउँबाटै उनीमा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान लगाइएको छ । साउन चौथो साता देखी कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि साउन २९ गतेबाट उनी होम आइसोलेसेनमा बसेका थिए । आइसोलेसनमा बसेपछि भने विस्तारै उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । 

त्यस्तै वडा नम्ब। ११ का कोरोना संक्रमित युवा गत साउन १४ गते भारतबाट आइ होम क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । न्यौपानेका अनुसार कोरोना संक्रमित वडाध्यक्ष सहित दुवै जनालाई नगरपालिकाले सुनवल १ मा बनाएको आइसोलेसन सेन्टरमा राखिने भएको छ । वडाध्यक्ष पाण्डेले पनि आफुहरुले नै निर्माण गरेको आइसोलेसन सेन्टरमा बस्ने बताएका छन् । आइसोलेसन सेन्टरमा नै बसेपछि नगरबासीको पनि आइसोलेसन सेन्टर व्यवस्थित रहेको विश्वाससहित सकारात्मक सन्देश जाने भएकाले आफु पनि सोहि सेन्टरमा नै बस्न लागेको उनले बताए ।

यस्तै सुनवल नगरपालिकाले गत भदौ ५ गते समुदायस्तरमा गरेको कोरोना परीक्षणका लागि ५० जनाको स्वाव संकलन गरी पठाइएकोमध्ये सोमबार ४६ जनाको रिपोर्ट सोमबार नेगेटिभ आएको छ भने बाँकी ४ जनाको रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

त्यस्तै सोमवार जिल्लाको बर्दघाट नगरपालिकामा समेत दुई जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित वडा नम्बर १२ का ३० वर्षीय पुरुष र वडा नम्बर १३ का ३५ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिए । उनका अनुसार वडा नम्बर १२ का पुरुषमा कन्ट्र्याक ट्रेसिङ मार्फत कोरोना संक्रमित पुष्टि भएको हो भने वडा नम्बर १३ का पुरुष भने केही समय अगाडी तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८२ पुगेको छ ।