
सोमवार , भाद्र ८, २०७७
भैरहवा, ८ भदौ ।
कोरोना भाइरस रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग सोमबार एकीकृत भिडियो संवाद गरेका छन् ।
संवादमा मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताएका छन् ।
संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पीसीआर परीक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिए । उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाइका साथ पालना गराउनुपर्ने बताए ।
उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाइ गर्न निर्देशन दिए ।
मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड–१९ ले सिर्जना गरेको मानवीय त्रासलाई न्यूनीकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्ति सुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गरे । उनले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ, त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए ।
प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गरेका थिए । तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij