images

आइतवार, बैशाख २३ गते २०८१

मापदण्डविपरीत गुल्मीमा नदी-खोला उत्खनन

मापदण्डविपरीत गुल्मीमा नदी-खोला उत्खनन

रोकिनुको सट्टा दैनिक बढ्दो छ : स्थानीय

images
images
images
शनिवार, जेठ २९ २०७८
शनिवार, जेठ २९ २०७८
  • मापदण्डविपरीत गुल्मीमा नदी-खोला उत्खनन


    गुल्मी, २९ जेठ ।
    आर्थिक वर्षको अन्तिम महिना असार लाग्दै गर्दा गुल्मीका खोला तथा नदीमा मापदण्डविपरीत गिट्टी, बालुवा उत्खनन् दैनिक बढ्न थालेको छ । सरकारले तोकेका मापदण्डविपरीत जिल्लाका सबै खोला तथा नदीमा ठेकेदार र निर्माण कम्पनीले मनपरी गर्दै आएका छन् । 

    स्थानीयले गर्दै आएको आग्रह र विरोधलाई कानमा तेल हाली ठेकदारले दिनहुँ डोजर, स्काभेटर, टिप्पर र ट्याक्टरको खोलामा लाइन लगाउँदै आएका छन् । ० दशमलव ५ मिटरसम्म नदीजन्य पदार्थको उत्खनन गर्न पाइने कानुनी प्रावधान रहे पनि ठेकेदारले दोब्बर/तेब्बर बढी गहिरो बनाई उत्खनन गर्दै आएका छन् । गुल्मीको इस्मा गाउँपालिकामा अवस्थित छल्दीखोलाबाट दैनिक दर्जन बढी निर्माण कम्पनीका टिप्परले रेसुङ्गा विमानस्थल र पक्की सडक निर्माणको नाममा गिट्टी र बालुवा ओसारपोसार गर्दै आएका छन् । 

    images
    images
    images

    छल्दी खोलामा दैनिक बढ्दो नदीजन्य पदार्थ उत्खनन  तथा क्रसरको आवाजले आफूहरुलाई असर पारेको विषयमा वडा कार्यालय, इस्मा गाउँपालिका र जिल्ला प्रशासन कार्यलयमा लिखित निवेदन दिए पनि सुनुवाई नभएको स्थानीयले गुनासो गर्दै आएका छन् ।  खोलालाई मापदण्डविपरीत गहिरो बनाई गिट्टी, बालुवा निकाल्दा खेत तथा कुलोलाई असर गरेको भन्दै गहिरो नगराउन आग्रह गर्दा उल्टै आफूहरुमाथि ठेकेदारले प्रश्न गरेको स्थानीय अमित कुंवर बताउँछन् । 

    इस्मा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक विमला खत्रीले मापदण्डविपरीत उत्खनन भइरहेको बताइन् । खत्री भन्छिन् ‘गाउँपालिकाले वातावरणीय प्रभावलाई मुल्यांकन गरी ठेक्का लगाएको तर ठेकेदारले आफ्नो मनमौजीले उत्खनन गरे’ खोला उत्खनन रोक्न आफुहरु लागी परेको गाउँपालिका उपाध्यक्ष खत्री बताउँछिन् । गाउँपालिकाले रोक्न अथाह प्रयास र कदम चालेको जिकिर गरे पनि ठेकदारले खोला उत्खनन गर्न भने छाडेका छैनन् । उत्खनन भएका खोलामा पारिएका खाल्टा खोला बढेर आएपछि मात्र पुरिने छन् ।

    मापदण्डविपरीत नदी तथा खोलाहरू उत्खनन भएको विरोध सबैतिरबाट आउन थालेपछि प्रहरी प्रशासन पनि जागेको छ । जेठ २७ गते शुक्रबार खोलाबाट २ ट्याक्टर १ जेसीभीलाई प्रहरीले नियन्त्रण लिएर शुक्रबार छाडिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मापदण्डविपरीत ठूला–ठूला मेसिनहरू प्रयोग गरेर गिट्टी वालुवा उत्खनन गर्न नदिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

    स्थानीय तहबाट ठेक्का लगाए मापदण्डविपरीत मेसिनहरुको प्रयोग गरी नदी तथा खोलाको उत्खनन गर्न नपाइने र प्रशासनले पटकपटक अनुगमन गरिसकेको नदीजन्य पदार्थ उत्खनन् नगर्न आग्रह गर्दा पनि अटेर गरेकाले आवश्यक कारवाही गर्न प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । तत्काल स्थानीय तहसंग छलफल गरेर केही बन्द भईसकेको र बाँकी भएकालाई बन्द गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन् । 

    गुल्मीका खोला तथा नदीमा मापदण्डविपरीत उत्खनन समाचार मिडियामा आएपछि केही ठेकेदार र जनप्रतिनिधिले पत्रकारलाई विकास विरोधी भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखिरहेका छन् । 



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij