
सोमवार , जेठ ३१, २०७८
नवलपरासी, ३१ जेष्ठ।
विश्व रक्तदान दिवसको अवसर पारि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आयोजना तथा बर्दघाट रेडक्रस उपशाखाको सहयोगमा सोमबार बर्दघाट ४ पुरानो चौकी परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको समाजका सहसचिव प्रकाश न्यौपानेले जनाकारी दिएका छन् । सो अवसरमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख बस्यालले यस कोरोना महामारीको दोस्रो भेरियन्टको विषम परिस्थितिमा अस्पतालहरुमा आक्सिजनको साथै रगतको समेत अभाव भएको अवस्थामा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको रक्तदान कार्यक्रमले जिल्लामा रगत अभाव हुन नदिन अहम भुमिका खेलेको बताए ।
साथै उनले यस कार्यक्रममा रक्तदान गरेका सम्पूर्ण रक्तदाता र आयोजक टिमलाई धन्यबाद ज्ञापन गर्दै मानव हितलाई ध्यानमा राख्दै यहाँहरुले गर्ने हरेक क्रियाकलापमा बर्दघाट नगरपालिकाको सदैव साथ र सहयोग रही रहने प्रतिबद्धता जनाए। बिश्व रक्तदान दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज नेपालले देशब्यापि रुपमा ७७ वटै जिल्लामा रक्तदान कार्यक्रमको आयोजना गरेको हुँदा जिल्ला कार्यसमिति नवलपरासी पश्चिमले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको र यस कार्यक्रमलाई सफल पार्न साथ र सहयोग गर्नेहरु प्रति समाजका अध्यक्ष अधिकारीले आभार प्रकट गरेका थिए । सो कार्यक्रममा बर्दघाट रेडक्रस उपशाखाका सभापति नारायण प्रसाद अधिकारी, समाजका पदाधिकारी लगाएत रक्तदाताहरुको सहभागीता रहेको थियोे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij