
सोमवार , जेठ ३१, २०७८
भैरहवा, ३१ जेठ ।
उद्योग व्यापार संगठन, रुपन्देहीले बजार खुकुलो बनाउँदै जाँदा अग्रस्थानमा बसेर काम गर्नुपर्ने व्यापारी, पर्यटन क्षेत्रका व्यवसायी, उद्योगी र उद्योगमा काम गर्ने कर्मचारीहरुलाई फ्रन्टलाइनर मानी कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संगठनले आइतबार जिल्ला प्रशासन कार्यालयमा निषेधाज्ञा तथा खोप सम्बन्धि सुझाव राख्दै उक्त माग गरेको हो ।
कोरोना महामारीको दोस्रो लहर कम भएसंगै निजी क्षेत्रका गतिविधिहरुलाई केही खुकुलो बनाउँदै पसल व्यवसाय तथा साना उद्योगहरुलाई बिहान ८ बजेदेखि सांझ ५ बजेसम्म खोल्न दिनुपर्ने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ समक्ष सुझाव राखिएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले ताए । बजार खुकुलो बनाइए पनि भिडभाड हुुने सभा, सम्मेलन, गोष्ठी, तालिम, पार्टी, विवाह भोज तथा भिडभाड हुने सरकारी कार्यालयमा भिडभाड नहुने गरी सेवा प्रवाह हुनुपर्ने सुझाव राखिएको भण्डारीले बताए ।
रुपन्देही अन्य जिल्लाहरु भन्दा बढी संवेदनशील जिल्ला भएकोले संघीय सरकारसंग थप कोरोनाविरुद्धको खोप माग गरी लगाउनुपर्ने सुझाव दिइएको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले जानकारी दिए ।
त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देहीका सम्पूर्ण कार्यसमितिलाई तत्काल लगाउने खोप लगाउन व्यवस्था मिलाउन समेत संगठनले माग गरेको छ ।
अब बिस्तारै दोस्रो लहर कम हुँदै गएको वर्तमान अवस्थामा निजी क्षेत्रको आर्थिक चलायमान पनि अगाडी बढाउनुपर्ने भएकोले संगठनले ५ बुदे मागसहितको सल्लाह सुझाव राखेको कोषाध्यक्ष सचिन रोक्काले बताए ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर जारी गरेको निषेधाज्ञाको अवधि आज सोमबार राती १२ बजे सकिदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij