२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

दुवै खुट्टा भाँचिएका जीवनको उपचारमा लायन्स सिद्धार्थनगर होलिसिटीको सहयोग

मंगलवार , भाद्र ९, २०७७

भैरहवा, ९ भदौ । 
भीरबाट ढुंगा खसेर दुवै खुट्टा भांचिएका प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्ली, गौराचोकका १३ वर्षिय जीवन पुनको आर्थिक अभावको कारण उपचारमा समस्या आएपछि लायन्स क्लब अफ होलिसिटी, सिद्धार्थनगले सहयोग गरेको छ ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस)मा भर्ना भइ खुट्टाको अपरेशनको लागि आर्थिक रकमको अभाव भएको जानकारी पाएपछि मंगलबार अस्पतालमा पुगेर पीडित परिवारलाई ६२ हजार ५ सय रुपैयाँ सहयोग गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष देवराज न्यौपाने बताए । 

क्लबका सदस्य तथा अन्य सहयोगी हातहरुबाट संकलन भएको रकम पीडित परिवारलाई मंगलबार अस्पतालमै पुगेर हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले जानकारी दिए ।

लायन्स क्लब अफ होलिसिटी, सिद्धार्थनगरका निवर्तमान अध्यक्ष दिपेन्द्र प्रधानले सहयोग गर्न आह्वान गरेपछि केही भए पनि रकम उपलब्ध गराउनुपर्छ भन्ने सोचमा क्लब पुगेको कार्यक्रम संयोजक सागर पोखरेलले बताए ।

१३ वर्षिय जीवनलाई सिद्धार्थ जेसीज, लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, स्व. कमलापती गंगादेवी पन्थ स्मृति प्रतिष्ठान भैरहवा, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ लगायतका संघ–संस्थाले सहयोग गरेका छन् ।

रकम प्राप्त भएपछि जीवनका बुबा कर्णबहादुरले समाचारमार्फत छोरोको उपचारको लागि रकम जुटेको भन्दै खुशी व्यक्त गरे । उनले सहयोग गर्ने सम्पूर्ण संघ–संस्थालाई धन्यवाद दिए ।

गत साउन ३० गते घरबाट स्थानीय बहाने बजार जादैं गर्दा लम्पुकभीरमा एक्कासी ढुंगा खस्दा जीवन घाइते भएका थिए । भीरबाट खसेको ढुंगाले उनको खुट्टा किच्दा दुबै खुट्टाको हड्डी भांचिएर छतविक्षत भएको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् । 

सहयोग पाएपछि गाउँघरमा खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका कर्णबहादुर छोरोलाई पैसा नहुँदा बचाउन सकिन्न कि भन्ने चिन्ता पनि हटेको छ ।

कर्णबहादुरको जीवनसहित १० वर्षकी छोरी पनि छन् । स्थानीय नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका जीवन आफ्ना बाबुसंगै साउन ३० गते बिहान बहाने बजार जादैं थिए । बहाने जाने क्रममा टिम्ले खोलास्थित लम्पुक भीरमा हिंड्दै गर्दा माथिबाट खसेको ढुंगाले च्याप्दा जीवनको दुवै खुट्टा भांचिएको हो ।

जीवनको उपचारमा डा. प्रकृतिराज कडेंल, डा. किशोरमान श्रेष्ठसहितको चिकित्सको टोली संलग्न छ । चिकित्सकहरुका अनुसार ढुंगाले थिच्दा उनको खुट्टाको हड्डी सबै भाचिएको छ । खुट्टाको हड्डी धेरै ठाउमा भांचिएकोले अप्रेशन पनि गम्भिर ढंगले गर्नुपर्ने हुन्छ । अस्पताल प्रशासनको अनुसार उनको उपचारको लागि करिब चार लाखको हाराहारी खर्च आउने देखिन्छ ।