
बुधवार , भाद्र १०, २०७७
परासी, १० भदौ ।
पश्चिम नवलपरासीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि जिल्लाका स्थानीय तहहरुले आइसोलेशन सेन्टरलाई थप व्यस्थित गर्न लागेका छन् । जिल्लाका गाउँपालिकाहरुले आ–आफनो गाउँपालिकाका आइसोलेशन सेन्टरहरुलाई थप व्यस्थित बनाउदै पीसीआर परिक्षणको दायरा पनि बढाएका छन् । आइसोलेशन र क्वोरिन्टनलाई व्यवस्थित बनाउन सहमति संस्था गैंडाकोटले जिल्लाको सुस्ता गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गाउँपालिकामा रहेको आइसोलेशन र क्वारेन्टाइनलाई थप व्यवस्थित गराउन सहयोग पुर्याउने उद्देश्यले उक्त सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष करुणा सागर सुवेदीले बताए । गाउँपालिकामा १ आइसोलेशन छ ।
आवश्यक परे विद्यालयहरुलाई समेत क्वारेन्टिन बनाउन सहयोग पुग्ने उद्देश्यले ७ वटा विद्यालयहरुलाई समेत सामाग्री हस्तान्तरण गरिएको छ । लुथ्रन वर्ड रिलिफ नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा प्रदान गरिएका सामाग्रीमा अस्पताल बेड १० थान, पंखा ७५ थान, अक्सिजन सिलिण्डर, अक्सिजन कनेक्सन सेट, पीपीई, धाराजडित स्टिल सिंक लगायत छन् ।
त्यसै गरी कोरोना संक्रमणका कारण विपन्न समुदायहरु प्रभावित भएकाले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले कृषि यान्त्रिक सामाग्री प्रदान गरिएको छ । ३ वटा सहकारीमार्फत वितरण गरिएका सामाग्रीमा बेसार रोप्ने, काट्ने, पिस्ने, प्याकिङ र तौल गर्ने १÷१ थान औजार छन् ।
त्यसै गरी मकै छोडाउने र काट्ने थ्रेसर मेसिन र धान तथा गहुँ काट्ने हाते मेशिन ३/३ थान र ३ थान हाते ट्याक्टर तथा पानी तान्ने मोटर लगायत कृषि यान्त्रिक सामाग्री समेत वितरण गरिएको छ । प्रदान गरेका सामाग्रीहरुको लागत मूल्य २० लाख बराबरको रहेको संस्थाले जनाएको छ ।
प्रदान गरिएका सामाग्री ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कोरोना संक्रमण बढ्दै जाँदा यसले समुदायलाई समेत प्रभावित पारेको अवस्थामा आइसोलेशन, क्वारेन्टाइन निर्माण र समुदायको जीविकोपार्जनमा यसले सहयोग पुगेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij