images

शनिवार, बैशाख २२ गते २०८१

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

images
images
images
बिहिवार, आषाढ ३ २०७८
बिहिवार, आषाढ ३ २०७८
  • प्रतिमान–नीमा प्रतिष्ठानद्वारा भीम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    भैरहवा, ३ असार ।
    प्रतिमान–नीमा स्मृति प्रतिष्ठान सिद्धार्थगर–३, रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान अन्तर्गत बिहीबार भीम अस्पताललाई उक्त सामग्री प्रदान गरेको हो ।

    images
    images
    images

    अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा नेपालमा कोभिड–१९ बाट प्रभावितका लागि राहत तथा सहयोग कार्यक्रम अन्तर्गत बिहीबार भीम अस्पताललाई विभिन्न सामग्री प्रदान गरिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् । कोभिड–१९ को दोस्रो लहरको महामारी समुदायस्तरमा फैलिरहेको कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग पुर्याउने उद्देश्यले अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको थापाले बताइन्  । 

    अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर ७ थान, अक्सिजन सिलिण्डर १५ थान, अक्सिजन रेगुलेटर १५ थान, पीपीई सेट १ हजार २ सय थान, सर्जिकल मास्क १ हजार थान, फेस सिल्ड २५० थान, सर्जिकल क्याप २५० थान र सेनिटाइर १२० लिटर प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए । उक्त सामग्री रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा.शकुन्तला गुप्तालाई हस्तान्तरण गरिएको के.सी.ले जानकारी दिए ।

    सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी र गैरसरकारी संस्था हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले अक्सिजनको अभावमा कोरोना संक्रमित बिरामीले ज्यान गुमाएको स्मरण गर्दै आगामी दिनमा यस्ता परिस्थिति हुन नदिन प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले ठूलो भूमिका निर्वाह गर्ने बताए । प्रजिअ तामाङले निषेधाज्ञा जारी भएको ५० औं दिन आइपुग्दा रुपन्देहीमा संक्रमितको मृत्युदर कम हुनुका साथै आइसीयू, भेन्टिलेटर र एचडीयू बेडमा न्यून बिरामी रहेको जानकारी दिए । उनले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नजिक पुगेको बताए । विभिन्न सहयोगी मन र भावना बढ्दै जाँदा भीम अस्पतालको व्यवस्थापनमा चुस्तता र संक्रमितले सहज उपचार पाउने वातावरणको सिर्जना भएको बताए । ‘जिल्ला अस्पताल भइसकेपछि भीम अस्पताल स्रोतसाधन, जनशक्ति लगायत सबै दृष्टिकोणले सहज बन्दै गएको छ, ’उनले भने । कोरोनाको पहिलो लहरमा नै भवन र भवन परिसर क्वारेन्टिन र होल्डिङ सेन्टरको लागि उपलब्ध गराएर अस्पतालले महत्वपूर्ण कार्य गरेको उनको भनाइ थियो । उनले महामारीमा स्वास्थ्यकर्मीहरु युद्धको सिपाही जस्तै भूमिका निर्वाह गरेको बताए ।

    अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवामा मात्र नभइ लुम्बिनी प्रदेशमै परिचिति संस्था बन्न पुगेको बताए । उनले कोभिड–१९ को पहिलो लहरमा भवन उपलब्ध गराएर प्रतिष्ठानले ठूलो गुन लगाएको बताए । कोभिड–१९ विरुद्ध लड्न र संक्रमित विरामीको उपचारको लागि प्रदेशका अस्पतालहरुमा स्वास्थ्य सामग्री वितरण अभियानको थालनी गरेको प्रतिष्ठानले भीम अस्पताललाई रोजेको भन्दै उनले धन्यवाद ज्ञापन गरे । प्रतिष्ठानले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले गुणस्तरीय स्वास्थ्य सेवामार्फत विरामी लाभान्वित भइ अस्पतालमा कार्यरत टीमलाई थप उत्साहित बनाएको अध्यक्ष भण्डारीको भनाइ थियो । उनले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका साथै एचडीयू, आइसीयू र भेन्टिलेटर थप्नुका साथै बालबालिकाको उपचारका लागि १० बेडको पीआइसीयू बेड पनि थप्ने कार्यमा अस्पताल लागेको जानकारी दिए ।
     

    सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले अहिले अस्पताललाई विभिन्न क्षेत्रबाट सहयोग जुट्दै गएको बताए । उनले अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिमान–नीमा स्मृति प्रतिष्ठान धन्यवादको पात्र भएको बताए । ‘अस्पताल र आइसोलेशन सेन्टरलाई के आवश्यकता छ, त्यो जानकारी पाए सहयोग गर्न चाहने संघ–संस्थालाई पनि आवश्यक सामग्रीको पहिचान गरी सहयोग गर्न सहज हुन्छ, ’उनले भने ।

    भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजनको अभावमा संक्रमित बिरामीको उपचारमा समस्या उत्पन्न भएको बताइन् । उनले दोस्रो लहरमा व्यवस्थापन गर्न चुनौतीपूर्ण अवस्था रहे पनि बिरामीको ज्यान बचाउन अस्पताल टिम लागिपरेको बताइन् ।

    अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नमूना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्याल, राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर अध्यक्ष ई.चन्द्रभक्त श्रेष्ठ, युवा नेता शंकर खत्री, विरेन्द्र ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

    यसअघि प्रतिष्ठानले बुधबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठमार्फत अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको थियो । प्रतिष्ठानले लुम्बिनी प्रदेशका सरकारी अस्पतालहरुमा साढे २ करोड बढीको स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान पूर्व स्वास्थ्य मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराको बुवा स्व. प्रतिमान चन्द बोहरा र आमा स्व. नीमा बोहराको नाममा भैरहवामा स्थापित प्रतिष्ठान हो । प्रतिष्ठानले सन् २००३ देखि शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij