२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

नीति तथा कार्यक्रममा युवाका मुद्दालाई समावेश गर्न युवा संघको माग

आइतवार , आषाढ ६, २०७८

भैरहवा, ६ असार ।
युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी सिद्धार्थनगर, रुपन्देहीले आगामी वर्षको नीति तथा कार्यक्रममा युवा सरोकारका मुद्दाहरुलाई नीतिगत तवरमा सम्बोधन गर्दै बजेट तथा कार्यक्रममा समावेश गर्न माग गरेको छ । संघले चालु आर्थिक वर्षमा पनि कोभिडका कारण युवा आर्थिक, सामाजिक, मनोवैज्ञानिक तवरमा नै प्रताडित र संकटापन्न भएका कारण युवा लक्षित विशेष कार्यक्रमको थप आवश्यकता रहेको स्मरण गराएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै संघले विभिन्न ९ बुदे माग राखेको छ । संघले सरकारले कोभिडविरुद्धको खोप कार्यक्रममा युवाहरुलाई वेवास्ता गरेकाले आर्थिक रुपमा सक्रिय रहनुपर्ने युवाहरुको लागि नगरपालिकाका आफ्नै खोप नीति तर्जुमा गरी युवा लक्षित खोप योजना तयारी गरी खोप कार्यक्रम सञ्चालन गर्ने नीतिगत व्यवस्था गर्न माग गरेको छ । त्यस्तै युवा स्वरोजगार अन्तर्गत सीसीइटिभीसंगको सहकार्यमा एडभान्स वायरिंग तथा प्लम्बिङको तालिम सञ्चालन, निर्माण तथा कृषि क्षेत्रमा प्रयोग हुने आधुनिक तथा हेभि इक्वीपमेन्ट मर्मतसम्बन्धी तालिम सञ्चालन, आधुनिक विद्युतीय सामग्रीका रुपमा प्रयोगमा आएका एसी, माइक्रो ओभन, इण्डक्सन चुलो, रेफ्रिजेरेशन लगायतका विद्युतीय सामग्रीको मर्मतसम्बन्धी तालिम सञ्चालन, कृषिको व्यवसायिक उत्पादनका प्रक्रिया र पद्दतिका तालिमको साथै व्यवसाय सञ्चालनका लागि बीउ पुँजीको व्यवस्थापनसहित कृषिमा उत्पादनका आधारमा अनुदान नीतिगत व्यवस्था गर्नुपर्ने युवा संघको माग छ ।

त्यसै गरी युवा लक्षित कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आफ्नै नगरस्तरीय युवा परिषद्को गठन तथा सञ्चालनको नीतिगत व्यवस्था मिलाउनुपर्ने, वर्तमान शिक्षा प्रणालीले व्यवहारिक शिक्षा नदिएका कारण सिर्जित शैक्षिक बेरोजगारीको समस्या समाधानका लागि लेखा व्यवस्थापन, बजारीकरण, स्टार्टअप बिजनेशको स्थापना लगायतका तालिमको व्यवस्थालाई नीतिगत तवरमा सम्बोधन गर्नुपर्ने युवा संघ सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

त्यस्तै युवाहरुको मानसिक स्वास्थ्यका लागि आवश्यक ध्यान तथा योग केन्द्रको स्थापना, मनोरञ्जन पार्ककको स्थापना र सञ्चालन, खेलमैदानको व्यवस्थापन, नगरपालिकाबाट सञ्चालन हुने खेलकुदजन्य कार्यक्रमहरु स्थानीय युवाहरुको सक्रियतामा स्थापना भएका क्लबमार्फत् मात्र सञ्चालन गर्ने नीतिगत व्यवस्था मिलाउन युवा संगको माग छ । निकट भविष्यमा नै सञ्चालनमा आउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने प्राविधिक तथा अन्य खालका सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रकृतिका तालिमको व्यवस्था गर्न संघले माग गरेको छ ।

त्यसै गरी युवाहरुको संग्लनतामा चलिरहेका सामाजिक संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रमहरुलाई नगरपालिकाले अपनत्व गर्ने नीतिगत व्यवस्था मिलाउन समेत संघले ज्ञापनपत्रमार्फत् माग गरेको छ ।