
सोमवार , आषाढ ७, २०७८
भैरहवा, ७ असार ।
नक्कली पास बनाएर सवारीसाधन चलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट वैशाख २६ गतेदेखि जिल्लाभर जारी गरिएको निषेधाज्ञाको अवज्ञा गरी सवारीसाधन चलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुल्मीको धुर्कोट नगरपालिका–७ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने २७ वर्षिय बिनोद घिमिरे, बुटवल उपमहानगरपालिका–११ का ५३ वर्षिय रोलक बहादुर बुढाक्षेत्री, बुटवल उपमहानगरपालिका–१२ का ३९ वर्षिय मनोज गैह्रे र गुल्मीको मुसिकोट नगरपालिका–७ का २७ वर्षिय विपिन काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नक्कली पास बनाइ सवारीसाधन चलाउने र सर्वसाधारणमा भ्रम पैदा गरी असार ४ गते बुटवलमा सवारी चलाउने, नक्कली पास बनाएर बेच्ने र सो कार्य गर्न सहयोग गरेकोले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
कोभिड–१९ नियन्त्रण अध्यादेश २०७८ को दफा ३९ विपरीत हुने गरी कार्य गरेको पाइएकोले सोही अध्यादेशको परिच्छेद ५ को दफा १९ को उपदफा २ बमोजिम निम्न ४ जनालाई सजाय तथा जरिवानाको लागि आइतबारजिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दाखिला गरिएकोमा उनीहरुमध्ये विनोद, रोलक र विपिनलाई रु. ५० हजार र मनोज गैह्रेलाई रु.५ हजार जरिवाना तोकिएकोमा उनीहरुले जरिवाना वापतको जम्मा रकम रु. १ लाख ५५ हजार दाखिला गराई छाडिएको डीएसपी थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij