२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

नेपाल गण्डक नहरको वृहद मर्मत सम्भार

मंगलवार , आषाढ ८, २०७८

परासी, ८ असार ।

पश्चिम नवलपरासीका खेतीयोग्य जमिन नियमित सिँचाईका लागि नहरमा भरपुर पानी दिन नेपाल सरकारले नेपाली नहरको वृहद मर्मत सम्भार गरिरहेको छ । प्रत्येक ५० बर्षभित्र नहरको पुर्न संरचना गर्ने कार्य अन्तर्गत नेपाल सरकारले ६० करोड रुपैयाँको बजेटमा नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यस्थित गर्दै नहरको वृहद सरसफाई तथा मर्मत सम्भार कार्य गरिरहेको छ । जस अन्तर्गत नरहको सरसफाई लगायतका अधिकांश कार्य सम्पन्न भैसकेको छ ।

विगत लामो समयदेखि नहरको वृहद सफाई नभएको र नहरका गेट, साईफन, कुलो लगायतका संरचनाहरु जिर्ण भएर भत्किएकाले नहरमा आवश्यक मात्रामा पानी नआउने कारणले खेतको सिँचाईबाट किसानहरु बन्चित हुने गर्दथे । तर यसबर्षदेखि नहरमा वृहद सरसफाई र मर्मत सम्भारको कार्यले नहरमा भरपुर पानी आएपछि किसानहरु हर्षित भएका हुन् । नहरमा भरपुर पानी आएपछि किसानहरुलाई सहजै धानको रोपाई र सिँचाई गर्न निकै सहज भएको नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली जल उपभोक्ता समिति नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले जानकारी दिए ।  

नेपाल भारत गण्डक सम्झौता अनुसार भारत सरकारले जिल्लाको साविक २२ गाउँ विकास समितिका खेती क्षेत्रलाई सिँचाई हुने गरि वि.सं. २०३६ सालमा नहर सिँचाई प्रणाली बनाई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । वि.सं २०२४ सालबाट नहरको संरचना बनाउने कार्य शुरु भई वि.स. २०३५ सालमा सम्पन्न गरि १ बर्ष भारत सरकारले नै आफै सञ्चालन गरि नेपाल सरकारलाई हन्तान्तरण गरेकोे थियो ।

के के काम भयो त अहिलेसम्म

नहर मर्मत र सरसफाईको अभावमा जिर्ण भएकाले ४३ सालपछि नेपाल सरकारले मुल नहर, शाखा नहर र माईनरको सरसफाई र मर्मत सम्भारका लागि १ अर्ब ६० करोड रुपैयाँको डिपिआर स्वीकृत गरि कार्य अगाडी बढाएको छ जस अन्तर्गत हाल ६० करोड रुपैयाँ बराबरको ४ वटा ठेक्का लगाई नहरको वृहद सरसफाई तथा मर्मत कार्यहरु भैरहेको नेपाल गण्डक पश्चिम नहर सिँचाई व्यवस्थापन कार्यालय नवलपरासीका प्रमुख रन्धीर कुमार शाहले जानकारी दिए । कार्यालय प्रमुख शाहका अनुसार अहिलेसम्म कुल कामको ६० प्रतिशत कार्य सम्पन्न भएको र ४० प्रतिशत कार्य अझै हुन बाँकी रहेको जानकारी दिए ।

६० प्रतिशत कार्यमा त्रिवेणी देखि सनईसम्म ३२ किलामिटरको मुल नहर सरसफाई गरिएको छ भने शाखा नहर तथा माईनरहरु १८ किलोमिटर सरसफाई गरिएको छ । त्यस्तै विभिन्न नहरमा ८ किलामिटर पक्की लाइलिङ्गको कार्य गरिएको छ । यता मुल तथा विभिन्न शाखा नहर र माईनरहरुमा गरि ३० वटा नयाँ गेट लगाईएको र कृषिबाटोका लागि नहरमा १० वटा पक्की पुल समेत बनाइएको प्रमुख शाहले जानकारी दिए । नहरमा देखिदै आएको सिल्टेशन समस्या सामाधानका लागि नहरमो मुल धोकामै पोखरी खनेर सिल्टे झिक्ने र मुल धोकाको एउटा गेट पनि मर्मत गर्ने जस्ता मर्मतका थुप्रै कार्यहरु गर्न बाकी रहेको उनले बताए ।

यस नहरले बर्दघाट, रामग्राम गरि २ नगरपालिका र सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गरि ४ गाउँपालिकाको कुल १० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाई हुदै आएको छ । यस गण्डक कमाण्ड क्षेत्रमा पुर्वदेखि पश्चिमसम्म ३२ किलोमिटर लामो १ वटा मुल नहर, ३ वटा शाखा नहर, ६ वटा माईनर नहर, २६ वटा एमसी, ६ वटा एस एफ डि र १६२ वटा एमएसडी रहेको छ ।  यस बाहेक खेतमा सजिलै पानी पुग्ने गरि सयांैको संख्यामा नाला कुलोहरु पनि छन तर किसानहरु आफै कुलोहरु मिची खेत बनाई सकेका छन् । नहरमा धान र गहुँ सिचाईका समयमा पानी छोडिन गरिन्छ । यो बर्ष नहरको सरफाई र मर्मतले समयमै नहरमा पानी आएको छ जसले गर्दा धान रोपाई र सिँचाईमा निकै सहज भएको कृषकहरुले बताएका छन् ।

यता कार्यालयले, विभिन्न पालिका तथा स्थानिय जनताहरुलाई गाउँघरको ढल नहरमा नमिसाउन र फोहर नफाल्न आग्रह गरेको छ । नहरमा ढल मिसाउदा र फोहार फाल्दा नहरको गेट थुनिएर जाने उता किसानहरु सिँचाई गर्दा खेतमा फोहोर र ढलका सायनयुक्त पानी पुग्नेले बालनाली उत्पादनमा हस आउने गर्दछ । त्यस्तै कार्यालयले नहरलाई जथाभावी नकाटन र कुलो नमिच्न आग्रह गरेको छ ।  

200534812_183180716985098_4923838303698212000_n.jpg