२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

तिलोत्तमामा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण

शुक्रवार , भाद्र १२, २०७७

  • 21.5K
    Shares
  • 21.5K
    Shares
  • भैरहवा, १२ भदौ । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पुर्‍याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण सुरु गरेको छ । शंकरनगरस्थित आइसोलेसन सेन्टर र घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको हो ।

    नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी देवी चौधरीको उपस्थितिमा शुक्रबार बिहान आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । त्यस्तै घरमै आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् घरमैं पुगेर आयुर्वेदिक औषधि वितरण गरिने गौतमको भनाइ छ ।

    तिलोत्तमा नगरपालिकामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ९९ जना रहेकोमा ५३ जना आइसोलेसनबाट निको भएर घर फर्किएका छन् । हाल आइसोलेशनमा ४६ जना मात्र रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका साथै तनाव व्यवस्थापनलाई समेत जोड दिएको छ ।

    आयुर्वेदिक औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ । नगरपालिकाले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकल अनुसार औषधि प्रयोगमा ल्याएको हो । 

    गुर्जो, अश्वगन्धा चूर्ण, तुलसी चिया, च्वानप्रास लगायतका आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गर्ने गरी वितरण गरिएको करहिया आयुर्वेदिक औषधालयका इञ्चार्ज प्रकाश ज्ञवालीले बताए ।

    कोरोना भाइरस संक्रमण पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार–विहार तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गरिएको उनले बताए ।