
बिहिवार , आषाढ १०, २०७८
भैरहवा, १० असार ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुले आज बिहीबार दिउँसो १ बजे बोलाइएको गाउँसभा बहिष्कार गर्ने घोषणा गरेका छन् । ओमसतियाका ६ जना वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिकाको निर्णय बिना मनोमानी ढंगले गाउँसभा बोलाइएकोले बहिष्कार गरेको बताएका छन् ।
ओमसतियाका अध्यक्ष हिरा केवट (राहुल) द्धारा प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रम लगायत आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमाको दुईतिहाई बहुमत कार्यपालिका सदस्य र वडा सदस्यहरुले बहिष्कार गर्ने घोषणा गरेको उनीहरुको दावी छ । गाउँसभाको कार्यक्रम बहिष्कार गर्ने रहर नभइ कार्यपालिका सदस्यहरुको निर्णय बिना नै गाउँसभा बोलाइएकोले आफूहरुको असहमति रहेको ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए । आफूहरुको असहमति हुँदाहुँदै आफूहरुको माग सम्बोधन गर्ने कुनै कदम नचालिएकोले विरोधमा उत्रिएको धवलले बताए ।
‘कोभिड–१९ महामारीकाबीच असहज परिस्थितिमा गर्न खोजिएको गाउँसभाविरुद्ध लाग्नुपर्दा हामी कदापी खुसी छैनौं, तर यो गाउँ सभामा प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रम जनहित र जन भावनाविपरीत भएकोले हामी यसको विरोध गर्न बाध्य भएका छौं, ’उनले भने ।
गाउँपालिकाका दुईतिहाई बहुमत कार्यपालिका सदस्यहरुले गाउँपालिकाद्धारा सञ्चालित बजेटको आयव्ययको विवरणसम्बन्धि नपाएको, ज्यालादारी तथा करारमा खटिएका कर्मचारी नियुक्त गर्दा कार्यपालिकाको निर्णय, विज्ञापन (सूचना) र स्थानीय कानूनको मर्मविपरीत नियुक्ति गर्दै मनपरी ढंगले अगाडी बढाउन खोजेकोले आफूहरुले गाउँसभा बहिष्कार गर्ने अडान लिन बाध्य भएको वडाअध्यक्ष धवलले बताए ।
आर्थिक वर्ष २०७७/७८ को बजेट हिउँदे गाउँसभामा पारित नगरी लाखौ करौडो रुपैयाँको योजना गाउँसभाको निर्णयविपरीत स्वच्छेचारी ढंगले अगाडी बढाइएको, संघीय सरकारकोे बजेट वक्तव्यले बाल विकास शिक्षा तथा कर्मचारी ज्यालादारीको १५ हजार भन्दा कम नहुने गरी सरकारले २ हजार बाँकी स्थानीय पालिकाले व्यवस्थापनको नीति अनुसार गर्नुस् भन्दा गर्न नचाहेको र उल्टै शिक्षक तथा कर्मचारीको हितविपरीत नीति तथा कार्यक्रम ल्याउन लागिएकोले विरोध गर्न बाध्य भएको ओमसतिया वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेश श्रेष्ठले बताए ।
त्यस्तै आ.व. २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम जनताको अत्यावश्यक योजना भन्दाविपरीत आफूलाई चुनावमा सजिलो हुने गरी प्रचारमुखी योजना तथा कार्यक्रम ल्याउन खोजेको र योजनाको भुक्तानी लगायतका अन्य सिफारिस बिना विगत दुई वर्षदेखि भुक्ताजनी गरिएकोप्रति आफूहरुको गम्भिर आपत्ति भएको वडाअध्यक्ष श्रेष्ठले बताए ।
जनताले आफूहरुलाई निर्वाचित गरेकोले गाउँपालिकाको विकासको लागि आफूहरु विरोधमा उत्रिन बाध्य भएको ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य कासिम अलीले बताए । ‘जनताको काम हुँदैन भने हामीले गलत कार्यकाविरुद्ध कदम चाल्नुपर्छ नी, ’उनले भने । ३४ जना गाउँसभाका सदस्यमध्ये २५ जना सदस्य आफूहरुसंग रहेको वडाअध्यक्ष शिव कुमार धवलले दावी गरे ।
गैरजिम्मेवार तरिकाले २ करोड मागियो : गाउँपालिका अध्यक्ष
यता ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले भने प्रविधिले विकास भइरहेको बेला समय अनुसार चल्नुपर्ने बताए । उनले गाउँसभाको सूचना तथा जानकारी एसएमएसमार्फत पनि गर्न सकिने बताए । जेठ २७ गतेदेखि निरन्तर कार्यपालिका बैठक बसेको तर बैठकको माइन्युटमा कार्यपालिका सदस्यहरुले उपस्थिति गर्न नमानेको उनले बताए ।
‘हामी जेठ २७ गतेदेखि निरन्तर बैठक बसेका छौं, उहाँहरु बैठकमा आउनुहुन्छ, तर बैठक बसेको दुई÷तीन दिनपछि बल्ल माइन्यूटमा हस्ताक्षर गर्नुहुन्छ, अध्यक्ष राहुलले भने । कोभिडका कारण स्वास्थ्य क्षेत्रमा धेरै बजेट बिनियोजन गर्नुपर्ने र विषयगत शाखाहरु सञ्चालन गर्न पनि बजेट आवश्यक भएको उनको भनाइ छ । वडाअध्यक्षहरुले सबैको वडाको लागि २÷२ करोड बजेट माग्नुभएको छ, यो अवस्थामा कसरी २ करोड दिने ? २ करोड बजेट दिनुस् र जसरी चलाउनु छ त्यसरी गाउँपालिका चलाउनुस् भन्ने कुरा आफैमा गैरजिम्मेवार बन्नु हो, ’उनले भने ।
२ करोडको कुरा मात्र गरियो : प्रमुख प्रशासकीय अधिकृत
ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले विषयगत शाखा सञ्चालन गर्न प्रयाप्त बजेट आवश्यक भएको बताए । उनले बैठकमा उपस्थित भएका वडाअध्यक्षहरुले २ करोड आवश्यक भएको भन्ने कुरा मात्र गर्दा समस्या भएको बताए । ‘
वडाअध्यक्षज्यूहरुले भनेझै प्रत्येक वडामा २ करोड दिन सक्ने रकम हुनुपर्यो, मागेर मात्र हुँदैन, अन्य पालिका जस्तो आन्तरिक स्रोत पनि छैन, १५ करोडबाट धेरै कुराको व्यवस्थापन गर्नुपर्नेछ, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij