
बिहिवार , आषाढ १०, २०७८
भैरहवा, १० असार ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोवल लेडिज र जेसीआई सिद्धार्थ लेडी, नेपालको संयक्त आयोजनामा बुधबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभाव हुन नदिन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
भैरहवास्थित भीम अस्पताल परिसरमा भएको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले कोभिड–१९ संक्रमणका कारणले लामो समयसम्म रक्तदान कार्यक्रम हुन नसकेको अवस्थामा लायन्स सिद्धार्थनगर नोवल लेडिज र जेसीआई सिद्धार्थ लेडीले सराहनीय कार्य गरेको बताइन् । उनले समाजमा हुने यस्ता उदाहरणीय कार्यले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । मन्त्री पाण्डेले भीम अस्पतालको विकासमा प्रदेश सरकारको ध्यान गएको र अस्पतालमा सीटीस्क्यान सेवा सञ्चालन लागि सरकारले ३ करोड बजेट बिनियोजन गरेको जानकारी गराइन् । कोभिड–१९ मा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्ने कार्उक्रम प्रदेश सरकारले ल्याएको उनको भनाइ थियो ।
त्यस्तै भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले ब्लड बैंकमा रगतको अभाव भएका बेला रक्तदान कार्यक्रमले रगत अभाव हुन नदिन सहयोग गर्ने बताए । उनले रगतले मान्छेको प्राण जोगाउने भएकोले रक्तदान कार्यक्रमलाई संघ संस्थाले अभियानको रुपमा सञ्चालन गरेको बताए । भैरहवामा जिल्ला अस्पतालको रुपमा रहेको २५ बेडको भीम अस्पतालमा ८० जना बढी कोरोना संक्रमित बिरामीको उपचार गरिएको अध्यक्ष भण्डारीले बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय गभर्नर पीएमजीएफ नवराज न्यौपानेले रक्तदान जीवनदान भन्ने नाराले धेरै कुरा बोलेको बताए । उनले एक युनिट रगतले पनि मान्छेको ज्यान बचाउने बताए । महामारीको समयमा लायन्स क्लब अफ सिद्धार्थनगर नोवल लेडिज र जेसीआई सिद्धार्थ लेडी, नेपालले राम्रो काम गरेको बताए ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले कोभिड–१९ को विषम परिस्थितिमा आयोजना गरिएको रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश गएको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोवल लेडिजका संस्थापक अध्यक्ष अञ्जु जैसीले समाजको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले तेस्रो लहरको कोरोना भाइरस संक्रमण आउने सुनिएकोले यसको रोकथामको लागि पूर्वतयारी गर्नुपर्ने बताइन् । भीम अस्पताल विकास समितिको अध्यक्षमा नारायण प्रसाद भण्डारी नियुक्त भएपछि अस्पताल व्यवस्थित हुँदै गएको बताइन् । आगामी दिनमा अस्पतालमा अक्सिजन र बेडको अभाव नहुने उनले विश्वास व्यक्त गरिन् ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोवल लेडिजका अध्यक्ष अञ्जु जैसी र जेसीआई सिद्धार्थ, लेडी नेपाल वर्ष २०२१ का अध्यक्ष रिमा न्यौपानेको अध्यक्षता, विष्णु गुरुङ र प्रकृति उप्रेतीद्वारा आस्था पाठ तथा लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिजका सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २१ युनिट रगत संकलन भएको लायन्स क्लब अफ सिद्धार्थनगर नोवल लेडिजका द्वितीय उपाध्यक्ष हेमा बेल्बासे (के.सी.)ले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij