
सोमवार , आषाढ १४, २०७८
बुटवल, १३ असार।
संकट र बिपदका बेला सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सेवामा क्रियाशिल संस्था एक्सपर्ट फाउन्डेसन नेपाल मार्फत नेपालका विभिन्न जिल्लामा ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
कोरोना कहरका कारण मुलुकले ब्यहोरिरहेको संकटमा स्वास्थ्य सेवामा सहयोग पुराउने उद्देश्यले एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लिद्धारा स्थापित सो फाउण्डेसनले नेपालका २२ जिल्लामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो।
पुर्वमा झापादेखि पश्चिममा कैलालीसम्म ति कन्सन्ट्रेटर सहयोग गरेको सो फाउन्डेसनका नेपालका अध्यक्ष रोशन कंडेलले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको उपस्थितीमा रुपन्देही र गुल्मीका बिभिन्न आईसोलेसन अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई ५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ९ मा संचालित कोभिड आईशोलेसन सेन्टर, वडा नम्बर ८को स्वास्थ्य चौकी, देवदह नगरपालिकामा संचालित कोभिड अस्पताल, रुपन्देहीकै कंचन गाउपालिकामा संचालित स्वास्थ्य चौकी र गुल्मी जिल्लाको रुरु स्वास्थ्य चौकीलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको अध्यक्ष कंडेलले बताए।
मेशिन हस्तान्त्ररण समारोहमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले स्थानिय तहहरुले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर वजेट तर्जुमा गर्नु पर्ने र अक्सिजन कन्सन्ट्रेटर प्राप्त गर्ने स्वास्थ्य संस्थाले दक्ष जनशक्ति मार्फत मात्र संचालन गर्नुपर्ने कुरामा जोड दिएका छन्।
मन्त्री श्रेष्ठले तत्कालको समस्या र संकटलाई ध्यानमा राखेर भौतिक पूर्वाधारमा भन्दा पनि गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिन स्थानिय तहहरुलाइ आग्रह गर्दै कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानिय तहको भुमिका महत्वपुर्ण हुने दावी गरेका छन्।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ९का अध्यक्ष नारायण न्यौपाने र वडा नम्बर ७ का अध्यक्ष दूर्गाप्रसाद पाण्डेले अक्सिजन कन्सन्ट्रेटर अक्सिजन अभाव हुने स्थानका स्वास्थ्य संस्थाहरुका लागि निकै प्रभावकारी हुने धारणा राखेका थिए।
कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको सो संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई पनि विभिन्न राहत प्याकेजहरु वितरण गरेको अध्यक्ष कंडेलले बताएका छन्।
२०७२ सालको भुकम्प लगाएत नेपालका विभिन्न स्थानमा भएका बिपद्का बेला खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदान लगायतका सहायताहरु प्रदान गरिसकेको सो संस्थाले अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरी आफनो सामाजिक उत्तरदायीत्वलाई थप प्रभावकारी बनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij