२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

सार्वजनिक स्थल निर्मुलीकरण अभियान सञ्चालन गर्दै अनेरास्ववियु–युवा संघ

मंगलवार , आषाढ १५, २०७८

भैरहवा, १५ असार ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्षेत्र नम्बर ३, रुपन्देही र राष्ट्रिय युवा संघ सिद्धार्थनगर, रुपन्देहीले सार्वजनिक स्थल निर्मुलीकरण अभियान सञ्चालन गरेको छ । कोभिड–१९ को महामारी र वर्षाका कारण लामखुट्टेको संख्या बढ्दै गएको परिस्थितिलाई मध्यनजर गरी सार्वजनिक स्थलमा विषादी छर्दै निर्मुलीकरण अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा संघका नेता कृष्ण मल्लले बताए । ‘युवा तथा विद्यार्थीले रचनात्मक काम पनि गर्नुपर्छ भन्ने सोचका साथ निर्मुलीकरण अभियान सञ्चालन गरेका छौं, ’युवा नेता मल्लले भने ।

असार १३ गते आइतबार भीम अस्पतालबाट निर्मुलीकरण अभियान सुरु गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य भीम भण्डारीले बताए । अभियानको शनिबार नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीले शुभारम्भ गरेका थिए ।

हालसम्म बसडिलवा शिवालय मन्दिर, भीम अस्पताल, स्वर्गद्वारी घाटमा निर्मुलीकरण गरिसकिएको एमाले युवा नेता वाई.पी. आचार्य (सुशान्त)ले जानकारी दिए । बाँकी रहेका अन्य सार्वजनिक स्थलमा पनि यो अभियान सञ्चालन गरिने अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले बताए । यस अघि अनेरास्ववियु क्षेत्र नम्बर ३, रुपन्देही र राष्ट्रिय युवा संघ सिद्धार्थनगर, रुपन्देहीले रक्तदान, भीम अस्पतालमा हेल्प डेस्क सञ्चालनमार्फत बिरामी कुरुवालाई निःशुल्क मास्क, सेनिटाइजर र पानी वितरण कार्यक्रम समेत सञ्चालन गरेको थियो ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघले राम्रो अभियान सञ्चालन गरेको नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य शंकर ज्ञवालीले बताए ।